ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजनाले करिब २२ प्रतिशत काम सम्पन्न भएको बताएको छ।
आयोजनाको प्रवर्द्धक संस्था स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्रकुमार लिम्बूले आयोजनाका लागि आधारभूत संरचना तयार भइसकेको र अबको बढीमा अढाईदेखि तीन महिनाभित्र आयोजनाका मुख्य संरचनामा ब्लास्टिङ सहितका कार्य हुने जानकारी दिए।
आइतबार फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लिम्बूले अन्य कुनै कुराले आयोजनाको निर्माणमा अवरोध नपुगे २०८५ साल असोज २५ भित्रमा जलविद्युत उत्पादन हुने गरी कामको गतिलाई तीव्रता दिइएको जानकारी दिए। सुरुमा तमोर र मेवाको पानी मिसाएर १२८ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भनिएकोमा तत्काललाई तमोरकै पानीबाट १४५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न सकिने अवस्था रहेको छ लिम्बूले बताए।
आयोजनाको सुरुङमार्ग र पावरहाउसमा समेत साविकभन्दा केही वरपर हुने गरी संरचनाको आधार तयार भएपछि तमोरकै पानीबाट १७ मेगावाट विद्युत थप भई आयोजनाको प्रारम्भिक क्षमता १४५ मेगावाट पुगेको उनको भनाइ छ। मेवाखोलाको पानी समेत मिसाएर आयोजना निर्माण गरेको खण्डमा आयोजनाको कुल क्षमता १५८ मेगावाट बढी हुने लिम्बूले जानकारी दिए।
सुरुको डिजाइजनमा आमबोटे खोल्सी नजिक सुरुङ रहेकोमा त्यहाँभन्दा केही माथि थाङने खोल्सा नजिकबाट ५ किलोमिटर लामो सुरुङमार्गमार्फत पानी प्रवाह भइ गुँहेली नजिक रहेको पावरहाउसमा पानी झार्ने आयोजनाको तयारी छ। हाङदेवा कटहरेदेखि डेढ किलोमिटर हेडरेस पाइपमार्फत पानी ल्याउने र थाङ्नेखोला नजिकबाट सुरु हुने भूमिगत सुरुङमार्गमार्फत पानी गुँहेली क्षेत्रमा रहेको पावर हाउसमा खसाइने हुँदा तमोरकै पानीबाट १४५ मेगावाट क्षमता हुन पुगेको लिम्बूले जानकारी दिए।
उनका अनुसार पावर हाउसको मुख्य संरचना भूमिगत भए पनि पावर हाउस भने बाहिरै हुने डिजाइन तयार भएको छ। पावर हाउस, इन्टेक लगायतका संरचनाका आधारभूत पूर्वाधार, मुख्य कार्यालय, कर्मचारी आवास भवन, कामदार आवास भवनसहितका संरचना पूरा भएको र आयोजना स्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भइसकेको उनले जानकारी दिए।
आयोजनाका मुख्य कामहरूका लागि गर्नुपर्ने ब्लास्टिङको कार्यका लागि प्रकृया अघि बढेको र अबको अढाईदेखि तीन महिनाभित्र उक्त कार्य समेत हुने भएपछि सुरुङ मार्ग खन्न थालिने लिम्बूले जानकारी दिए। अडिट (पानी थिग्ग्रयाउने) र मुख्य सुरुङ मार्गको करिब ५–७ मिटर सुरुङमार्ग समेत निकाली सकिएको लिम्बूको भनाइ छ। १७ मेगावाट वृद्धिसहित कुल १४५ मेगावाट क्षमताको आयोजनाको कुल लागत २६ अर्ब हुने र त्यसमध्ये बैंक तथा बित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत अर्थात १७ अर्ब ६८ करोड हुने लिम्बूले जानकारी दिए। बाँकी २५ प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड स्वपुँजी (ईक्विटी) हुने छ।
अहिलेसम्म भएका सबै संरचनाको काम स्वपुँजीबाट गरिँदै आएको समेत उनले जानकारी दिए। अन्य जलविद्युत आयोजनाभन्दा यो आयोजना सस्तो दरमा हुने बताउँदै लिम्बूले आयोजनाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट लागत १८ करोडभन्दा कम हुने जानकारी दिए। आयोजनाका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंकसँगको समन्वयमा विभिन्न बैंकहरूले लगानी गर्नेगरी सम्झौता भइसकेको छ।
सिद्धार्थ बैंक र माछापुच्छ्रे बाहेक कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसिएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगानी साझेदार बैंकको रूपमा रहने भएका छन्। आयोजना निर्माणका लागि २०८१ साल जेठ १० गते शिलान्यास भई कार्य प्रारम्भ भएको हो।
स्पार्कले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो। २०८० साल असोज २४ गते स्पार्कले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपीए) गरेको थियो।
आयोजनाबाट उत्पादन भएको विद्युत मैवाखोलाको ढुङगेसाँघुस्थित विद्युत सवस्टेशनमा गरी राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ। विद्युत प्रसारण लाइनका लागि आईईईको कार्य सुरु भएको र भूमिगत तारबाट प्रसारण लाइनसम्म पुर्याउने प्राविधिक अध्ययन भइरहेको लिम्बूले जानकारी दिए। आफूले मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसँग समेत भूमिगत तारबाट प्रसारण लाइनसम्म उत्पादित विद्युत पुर्याउने प्रयास भइरहेको बारे अवगत गराएको लिम्बूले जानकारी दिए।
प्रकाशित: १३ पुस २०८२ १३:२९ आइतबार





