यही अप्रिल ५ र ६ तारिखमा अस्ट्रेलियाको मेलबर्न शहरमा आयोजित पाँचौँ ग्लोबल खुल्ला तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो आईटीएफ नेपालका खेलाडी सस्मन बस्नेत र गयाजी खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेका छन्। सस्मन बस्नेतले थर्ड डिग्री व्यक्तिगत प्याट्रनमा सेमीफाइनलमा अस्ट्रेलियाका क्रिस्टोफर स्ट्रीटलाई पराजित गरे पनि फाइनलमा अर्का अस्ट्रेलियाली खेलाडी जोन वुलरसँग पराजित भए।
त्यस्तै, व्यक्तिगत स्पाइरिङ एडल्ट ७५ केजीमा उनले पहिलो खेलमै अस्ट्रेलियाका आर्चर वोलरसँग हार बेहोरे। अर्कातर्फ, गयाजी खड्काले व्यक्तिगत स्पाइरिङ एडल्ट ५५ केजीको फाइनलमा न्यूजील्यान्डका रामीन तोभाकोलिबसँग पराजित भएर रजतमा चित्त बुझाउनुपर्यो भने फोर्थ डिग्री व्यक्तिगत प्याट्रनमा सिंगापुरका क्वि झाओसँग पहिलो खेलमै पराजित भए।
यद्यपि, समग्रमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा टिम कोच मास्टर लक्ष्मण बस्नेतले बताए। प्रतियोगितामा टिम व्यवस्थापकको भूमिकामा रोजन पण्डित थिए भने सस्मिनी बस्नेत पण्डितले अम्पायरको जिम्मेवारी निर्वाह गरिन्। सस्मिनीले सन् २०२३ मा नेदरल्यान्ड्समा भएको विश्व प्रतियोगिता, सन् २०२४ मा चीनमा आयोजित एसियन खुल्ला तेक्वान्दो प्रतियोगितालगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल अम्पायरको भूमिका निर्वाह गरिसकेकी छन्।
सस्मन बस्नेतले सन् २०१७ मा दक्षिण कोरियामा भएको एसियन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए भने अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक हासिल गरेका छन्। त्यस्तै, गयाजी खड्काले सन् २०२४ मा चीनमा भएको एसियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका थिए भने सन् २०२३ मा मेलबर्नमै भएको तेस्रो ग्लोबल ओपन तेक्वान्दो प्रतियोगितामा पनि रजत पदक प्राप्त गरेका थिए।
रोचक संयोग के छ भने मास्टर लक्ष्मण बस्नेत टिम कोच रहेको यो प्रतियोगितामा उनका छोरा सस्मन बस्नेत खेलाडी र छोरी सस्मिनी बस्नेत पण्डित अम्पायरको भूमिकामा थिए। बाबु, छोरा र छोरीले एकसाथ अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाएर सफलता हासिल गर्नुले नेपाली ताइक्वान्डोको गर्विलो उपस्थितिलाई झल्काएको छ।
प्रकाशित: २५ चैत्र २०८१ ११:३७ सोमबार