१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
खेल

छायामा ब्रिट्ज्केको डेब्यु कीर्तिमान

केन विलियम्सनको उत्कृष्ट शतकप्रेरित न्युजिल्यान्डले सोमबार ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक शृंखलाको फाइनलमा स्थान बनाउँदा दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिट्ज्केको डेब्यु कीर्तिमान छायामा परेको छ।

एकदिवसीय क्रिकेटको डेब्युमा नै ब्रिट्ज्केले १५० रन जोड्दै कीर्तिमान बनाएका थिए। लाहोरको गद्याफी स्टेडियममा उनकै कीर्तिमानप्रेरित दक्षिण अफ्रिकाले ३०४/६ को योगफल बनाएको थियो। तर, विलियम्सनले अविजित १३३ रन जोडेपछि डेब्युटेन्ट ब्रिट्ज्केको राष्ट्र दक्षिण अफ्रिका पराजित हुन पुग्यो। 

आठ राष्ट्रले आगामी फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा खेल्ने च्याम्पियन्स ट्रफीको तयारीस्वरूप यो शृंखला भएको हो। पाकिस्तानले बुधबार शृंखलामा दक्षिण अफ्रिकासँग कराचीमा खेल्नेछ। यो खेलले न्युजिल्यान्डसँगको फाइनल प्रतिद्वन्द्वी तय हुनेछ। आगामी शुक्रबार उपाधि भिडन्त पनि कराचीमै हुनेछ।

पाँच वर्षपछि एकदिवसीय क्रिकेटमा शतक बनाएका विलियम्सनले च्याम्पियन्स ट्रफीअगाडि लय समातेका छन्। विलियम्सनलाई सोमबार डेभन कनवेले साथ दिए। कनवे भने तीन रनले शतकबाट चुके। यी दुईको जोडीले दोस्रो विकेटका लागि १८७ रनको साझेदारी गर्दै न्युजिल्यान्डको जित आधार बनायो। ओपनर विल योङ १९ रनमा नै पेभेलियन फर्किएका थिए। 

तर, त्यसपछि विलियम्सन र डेभनले इनिङ समालेपछि न्युजिल्यान्ड शृंखलामा दोस्रो जित निकाल्न सफल भयो। ‘राम्रो लक्ष्य पछ्याउँदै त्यहीअनुरूप साझेदारी पनि हुन आवश्यक छ। त्यो साझेदारी कनवे र विलियम्सनले गरे। विलियम्सनले इनिङमा नेतृत्व गर्दै जित पनि दिलाए,’ न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले भने।

ड्यारिल मिचेल १० रन र टम लाथम शून्यमा नै पेभेलियन फर्किए। विलियम्सनलाई त्यसपछि ग्लेन फिलिप्सले साथ दिए। विलियम्सनले विजयी चौका प्रहार गर्दै ४८.४ ओभरमा लक्ष्य पूरा गरे। यससँगै एकदिवसीय क्रिकेटको डेब्युमा ब्रिट्ज्केले कीर्तिमानी रन बनाए पनि उनको टोली जित निकाल्न असफल भयो। सन् १९७८ मा वेस्ट इन्डिजका डेसमोन्ड हायनेसले अस्ट्रेलियाविरुद्ध डेब्युमा बनाएको १४८ रनको कीर्तिमानलाई सोमबार ब्रिट्ज्केले पछि पारेका हुन्। ब्रिट्ज्केले आफ्नो इनिङमा ११ चौका र पाँच छक्का प्रहार गरेका थिए। 

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले उक्त रेकर्डलाई खेलको सुखद पक्ष भन्ने प्रतिक्रिया दिए। न्युजिल्यान्डका विल ओ रौर्केको बलमा बाउन्ड्री प्रहार गर्दै ब्रिट्ज्केले १२८ बलमा शतक पूरा गरेका थिए। यससँगै उनी दक्षिण अफ्रिकाका लागि एकदिवसीय क्रिकेटको डेब्युमा नै शतक पूरा गर्ने चौथो क्रिकेटर पनि भए। व्यावसायिक टी ट्वान्टी लिगबाट फर्किएका शीर्ष क्रिकेटरहरू चोट बोकेपछि दक्षिण अफ्रिकाले चार क्रिकेटरलाई डेब्यु गराएको थियो। यता, न्युजिल्यान्डले भने रचिन रवीन्द्रा चोट बोकेपछि उनको स्थानमा कनवेलाई अवसर दिएको हो। एएफपी 

प्रकाशित: २९ माघ २०८१ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App