४ वैशाख २०८२ बिहीबार
image/svg+xml ५:४५ पूर्वाह्न
खेल

३४ वटा राष्ट्रिय खेल संघद्वारा तोडफोडको घटनाप्रति निन्दा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति नेपाल ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, राखेप कर्मचारी संघका साथै विभिन्न खेलका ३४ वटा राष्ट्रिय संघले भर्त्सना गरेको छ।

नेपाल भलिबल संघ, अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ, नेपाल टेबलटेनिस संघ, नेपाल क्रिकेट संघ, नेपाल एथ्लेटिक्स संघ, नेपाल रग्बी संघ र इस्पोटर्स संघ नेपाल (इसान) लगायत विभिन्न खेल संघहरूले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे निन्दा गरेका छन्।

उच्च अदालत पाटनद्धारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीले शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड गरेका थिए। उनीहरूविरुद्ध कालीमाटी प्रहरी बृत्तमा उजुरी दर्ता भइसकेको राखेपले जनाएको राखेपले जनाएको छ।

नेपालका खेलाडी, प्रशिक्षक र समग्र खेलकर्मीहरूले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। शनिबार उक्त घटनालाई लिएर एकैपल्ट ३४ वटा राष्ट्रिय खेल संघले निन्दा गर्दै कारबाही गर्नुपर्ने माग गरेका छन्। उसुका प्रशिक्षक तथा प्राविधिकले उक्त घटनामा गैरखेलकर्मीहरू संलग्न रहेको उल्लेख गरेका छन्।

गत बिहीबार मात्र राखेपले पत्रकार सम्मेलनमार्फत नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको उल्लेख गरेको थियो। त्यसैले लामासहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रियाअगाडि बढाइने राखेपले उल्लेख गरेको थियो। उनीहरूलाई तीन दिनभित्र सफाई पेस गर्न राखेपले अवसर दिएको भोलीपल्ट नै लामासहितको उसु टोलीले तोडफोड गरेको हो। 

प्रकाशित: २७ माघ २०८१ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App