१३ माघ २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ।

फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन्।शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो।बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो।

इन्दू बर्माको कप्तानीमा रहेको एपिएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो।बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो।

सुपर फोरमा आर्मीसँग पराजित भएको सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो।युवा टोली तथा  घरेलु मैदान र दर्शकको समर्थनमा सुदूरपश्चिम उपाधि रक्षा गर्ने दाउमा छ।

यसअघिका सबै खेल जितेर बलियो देखिएको एपिएफ सहजै च्याम्पियन हुने लक्ष्यमा छ। माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो। प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ।

फाइनल समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रकाशित: १२ माघ २०८१ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App