१४ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

‘हामी बारुदबाट जन्मिएका हाैं, ढुंगामा पनि फुल्न सक्छौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी गरेका छन्।

आइतबार राजधानीमा आयोजित नेकपाको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई आत्मनिर्भर बनाउनको लागि चालिएका कदमहरूको चर्चा गर्दै भने, ‘हामी बारुदको बीचबाट जन्मेका मान्छे हौं। ढुंगामा पनि फुल्न सक्छौं। यो देशलाई उभ्याउन सक्ने मनोबल हामीसँग छ।’

विप्लवले डेढ वर्षको अवधिमा आफ्ना नेता तथा कार्यकर्तालाई मागेर खानुपर्ने अवस्थाबाट मुक्त गराइएको उल्लेख गर्दै, चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पारे।

उनले भने, ‘हामीले पार्टीलाई तीन वर्षभित्र चन्दा माग्न नपर्ने अवस्थामा पुर्‍याउने अठोट गरेका छौं। अब भातका लागि कसैलाई गुहार्नुपर्ने स्थिति छैन।’

विप्लवले नेपालजस्तो प्राकृतिक स्रोतले भरिपूर्ण देशले मागेर खानु नपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘हामीसँग पहाड, तराई, हिमाल, जंगल सबै छ, तर नेतृत्व गर्ने बुद्धि नभएका नेताहरूका कारण देश संकटमा परेको छ।’

नेकपाले कृषिमा आत्मनिर्भरता कायम गर्न गरेको मिहिनेतका कारण पार्टीका सदस्यहरू आर्थिक रूपले सुदृढ भएको उनले बताए। ‘नेता र कार्यकर्ताको घरमा खानाका लागि कुनै समस्या छैन। हाम्रो लक्ष्य नेपाललाई पनि आत्मनिर्भर बनाउनु हो,’ उनले थपे।

विप्लवले सोमबार राजधानीको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागेको जानकारी दिए। ‘हामी बुढानीलकण्ठमा सी व्यापार केन्द्र स्थापना गर्दैछौं,’ उनले भने।

नेपालले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न चाहेको उल्लेख गर्दै उनले गरिब राष्ट्रलाई सहयोग गर्ने देशको रूपमा आफूहरू उभिन चाहेको बताए।

‘नेपालले अरू देशबाट चामल किनेर खानुपर्ने होइन। हामी नेपालका गरिब जनतालाई आत्मनिर्भर बनाउन चाहन्छौं। मध्यमवर्ग, बुद्धिजीवी र व्यवसायी हाम्रो मित्र हुन्,’ उनले भने।

विप्लवले प्रतिबन्धको समयलाई पनि चुनौतीका रूपमा स्वीकार गर्दै, त्यहाँबाट उठेर अगाडि बढेको दाबी गरे। उनले थपे, ‘नेपाली जनताको मन छामेका छौं। आत्मनिर्भर र स्वाभिमानी नेपाल निर्माणका लागि निरन्तर लागिरहनेछौं।’

प्रकाशित: १३ माघ २०८१ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App