इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू आइतबार काम ठप्प पार्दै कार्यालय बाहिर धर्नामा बसेका छन्।
कार्यवाहक मेयर सङ्गीता चौधरी नेतृत्वको टोलीले प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरूले विरोध जनाएका हुन्।
शुक्रबार प्रशासन शाखामा भएको घटनाको विरोधमा कर्मचारीहरूले कार्यालय बाहिर नै बसेर काम गर्ने वातावरण नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। कर्मचारीहरूले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै सहज र सुरक्षित वातावरणको माग गरेका छन्।
इटहरीका मेयर हेमकर्ण पौडेल पारिवारिक कामले भारत गएका कारण उपमेयर चौधरीले कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्। चौधरीसहित एमालेबाट विजयी केही वडाध्यक्ष प्रशासन शाखामा पुगेका थिए। त्यही क्रममा खड्कामाथि दुर्व्यवहार भएको आरोप लागेको हो।
सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा चौधरीले खड्काले सरुवा गरिएका कर्मचारीलाई सम्बन्धित वडामा हाजिर हुन ताकेता गरेको र वडाहरूको इन्टरनेट सर्भर बन्द गराएको विषयलाई विवादको कारण बताएकी छन्।
शनिबार भारतबाट फर्केका मेयर पौडेलले आइतबार कार्यालयमा पुगेर कर्मचारी र जनप्रतिनिधिबीचको विवाद समाधान गर्न वार्ता सुरु गरेको जनाइएको छ।
इटहरी उपमहानगरपालिकामा कांग्रेस र एमालेका जनप्रतिनिधिबीच बेला-बेला विवाद हुने गरेको छ। मेयरसहित पाँच वडामा कांग्रेस विजयी भएको छ भने उपमेयरसहित १५ वडामा एमाले विजयी छ। राजनीतिक ध्रुवीकरणका कारण इटहरीको व्यवस्थापनमा समस्या देखिने गरेको छ।
प्रकाशित: १३ माघ २०८१ १५:१४ आइतबार