६ माघ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल कबड्डी लिग: सबै टोलीको लक्ष्य उपाधि

शुक्रबारदेखि सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य ६ वटै फ्रेन्चाइज टोलीले राखेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रबारबाट सुरु हुँदै छ। उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेका हुन्।

नेपालमा पहिलोपल्ट हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दै छन्। लिगका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्।

शुक्रबार हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपाल राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोक्कामगर काठमान्डुका मार्की हुन्।

काठमान्डुले सरोजकुमार सिंहको प्रशिक्षणमा तयारी गरेको छ। प्रशिक्षक सरोजले तयारी राम्रो रहेको र टोलीमा पनि अनुभवी खेलाडी रहेकाले सुखद नतिजा ल्याउने आशा व्यक्त गरे। उनले टोलीमा अनुभवी विदेशी खेलाडी अनुबन्धित गरेको पनि उल्लेख गरेका छन्। पोखरा लेकर्सका मार्की प्रदीप मिजार हुन्। राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा उत्रँदै छ।

पोखराका प्रशिक्षक भट्टले जुनियर विश्व च्याम्पियनसिप, नेपालको राष्ट्रिय टोली र प्रो कबड्डीका खेलाडी आफ्नो टोलीमा रहेको र टोलीको तयारी पनि राम्रो रहेको बताए। मार्की खेलाडी प्रदीपले पुस ६ गतेदेखि प्रशिक्षण गरेको उल्लेख गर्दै अनुभवी र युवासहित आफ्नो टोली सन्तुलित रहेको बताए।

उनले राम्रो रणनीति र उच्च मनोबलका साथ तयारी गरेको बताए। साथै उनले उपाधि जित्ने पनि विश्वास व्यक्त गरेका छन्। जनकपुरकी प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा हुन्। जनकपुरकी प्रशिक्षक राईले पहिलोपल्ट खेल हुन लागेकाले अझै तयारी पर्याप्त हुन नसकेको उल्लेख गरिन्।

उनले आफूसँग लामो अनुभव रहेको र त्यही अनुरूप तयारी गरेको बताइन्। प्रशिक्षक पार्वती राईले एक महिनादेखि तयारी गरिरहेको उल्लेख गरेकी छन्। उनले आफ्नो टोलीमा थाइल्यान्डबाट एसियन गेम्स खेलेका र श्रीलंकाका एक जना अनुभवी खेलाडी रहेको उल्लेख गरिन्।

उनले आफ्नो टिम सन्तुलित र बलियो रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्। हिमालयन रेइडर्सका प्रशिक्षक पोथुगान्ती सतिस कुमारले हरेक दिन नयाँ टेक्निकसहित प्रशिक्षण गरेको उल्लेख गरे। उनले आफ्नो टोलीमा नेपालका र विदेशी खेलाडी पनि राम्रा रहेकाले टोली सन्तुलित रहेको बताए।

उनले नेपाल कबड्डी लिगबाट पनि एकदिन भारतको जस्तै स्टार खेलाडीहरू जन्मिन सक्ने आशा व्यक्त गरेका छन्। नेपाली खेलाडीमा धेरै क्षमता रहेको उनको भनाइ छ। तर, उनीहरूमा एक्सपोजरको आवश्यकता रहेको उनले औंल्याएका छन्।

हिमालयनमा गणेश पार्की छन्। हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा भारतका सतीशकुमारसँगै सन्दीप पन्तलाई राखेको छ। भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्। हिमालय रेइडर्सले करिब २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो।

भारतीय टोली समालिसकेका प्रशिक्षकले पनि तयारीमा साथ दिएको हिमालयनको भनाइ छ। धनगढी वाइल्ड क्याटका प्रशिक्षक महेश बोहोराले नेपालमा पहिलोपल्ट हुन लागेको फ्रेन्चाइजले नेपालको समग्र कबड्डी खेललाई नै माथि उठाउने आशा व्यक्त गरे। उनले पनि राम्रो तयारी गरेको र आफ्नो टोली बलियो रहेकाले उपाधि जित्ने दाबी गरेका छन्।

धनगढीका मार्की खेलाडी पदमबहादुर विष्टले पनि तयारी राम्रो भएको र टिम पनि सन्तुलित रहेकाले फाइनलमा पुग्ने आशा व्यक्त गरे। विराटनगर ब्यान्डिट्सका प्रशिक्षक लोकबहादुर विष्टले पनि तयारी प्रभावकारी रहेकाले फाइनल पुग्ने लक्ष्य राखेका छन्। उनले आफ्नो टोलीमा रहेका दुई जना विदेशी खेलाडी थाइल्यान्डको रहेको उल्लेख गरे।

उनीहरू युवा रहे पनि राम्रो प्रदर्शन गर्ने उनको अपेक्षा छ। घरेलु टोलीका बाँकी १२ जना खेलाडी पनि क्षमतावान् रहेको प्रशिक्षक विष्ट बताउँछन्। त्यसैले आफ्ना टिम सन्तुलित रहेको उनको बुझाइ छ। विराटनगरका मार्की खेलाडी कल्याण भुजेलले एक समय भारतमा पनि किसानले मात्र कबड्डी खेल्ने गरे पनि व्यावसायिक लिग सुरु भएपछि त्यहाँको कबड्डीको स्तर माथि पुगेको उल्लेख गरे।

नेपाल कबड्डी लिगले पनि नेपालको कबड्डी खेललाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास छ। उनले पहिलोपल्ट सुरु भएको लिगमा राम्रो प्रदर्शन गर्ने र उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन्।

एनकेएलको पहिलो संस्करणमा थाइल्यान्ड र बंगलादेशका समान ६, केन्या र श्रीलंकाका समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले खेल्दै छन्। प्रत्येक टोलीमा १४ खेलाडी छन्। हरेक टोलीले कम्तीमा दुईदेखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्। एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन्।  

प्रकाशित: ४ माघ २०८१ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App