२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

१०औंं राष्ट्रिय खेलकुद: अघि बढ्यो आयोजनाको प्रक्रिया

दशाैं खेलकुद प्रतियाेगिता हुने सुर्खेतस्थित कर्णाली रंगशाला। फाइल तस्वीर: नागरिक

विवादास्पद बनेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८औं बोर्ड बैठकले मिति निर्धारण गरेको दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि प्रक्रिया अगाडि बढेको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बुधबार त्रिपुरेश्वरस्थित राखेपमा १०औंं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरेका थिए। यससँगै २०३८ सालदेखि प्रत्येक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करणको तयारी सुरु भएको छ। यद्यपि, यो आयोजना मिति तय गर्दा राखेपको बोर्ड विवादास्पद बनेको थियो।

गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दशौं खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने तय गरेको हो। उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा बनाइएको आरोप लागेको थियो।

राखेपका बोर्ड सदस्यले नै बोर्डका अध्यक्ष एवम् मन्त्री चौधरीले बैठक छलेर राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरेको आरोप लगाएका थिए। बोर्डमा माइन्युट नगर्ने भनिएको र पछि बोर्डका अधिकांश सदस्यलाई घर पठाएर मन्त्री चौधरीको कार्यकक्षमा माइन्युट बनाइएको उनीहरूले आरोप लगाउँदै आएका छन्।

माइन्युट क्लोज पनि नभएकाले चैतमा तय गरिएको मिति घोषणा वैधानिक नहुने राखेप सदस्यले प्रतिक्रिया दिँदै आएका छन्। तर, सचिवालय उद्घाटन कार्यक्रममा मन्त्री चौधरीलाई यसबारे प्रश्न गर्दा उनले यो विषय पुरानो भइसकेको भन्दै जबाफ दिन चाहेनन्।

‘यो विषय पुरानो भइसकेको छ। हामी धेरै अगाडि बढिसकेका छौं। माइन्युट क्लोज गरेर अर्थ मन्त्रालय पुगिसकेको छ,’ मन्त्री चौधरीले भने। यसपछि मन्त्री चौधरीले धन्यवाद भन्दै ११८औं बोर्डको बैधानिकताबारे भने थप प्रस्ट्याउन चाहेनन्। पत्रकार सम्मेलनमा मन्त्री चौधरीले आगामी माघ ३ गते बोर्ड बैठक बस्ने उल्लेख गरेका थिए।

सम्भवतः सोही बैठकबाट मन्त्री चौधरीले दशौं खेलकुदको आयोजनालाई बैधानिकता दिने देखिन्छ। चैतको अन्तिम सातादेखि आयोजनाको तयारी भए पनि टेन्डर प्रक्रियाका लागि आवश्यक समयसीमा कठिन हुने देखिएको छ।

जबकि सार्वजनिक खरिद ऐन अनुरूप टेन्डरका लागि आवश्यक पर्ने टेन्डर प्रक्रिया पूरा हुन ६७ दिनदेखि ९० दिनसम्म हुनुपर्ने प्रावधान छ। अब खेलकुद आयोजनाका लागि ८७ दिन मात्र बाँकी छ। यद्यपि, टेन्डर प्रक्रियामा जानुभन्दा अगाडि दशौं राष्ट्रिय खेलकुदको कार्यविधि र खर्च नम्र्स पास हुनुपर्दछ। कार्यविधि र खर्च नम्र्स अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पास हुनुपर्छ। तर, मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म कार्यविधि र खर्च नम्र्स खेलकुद मन्त्रालयबाट नै अगाडि बढ्न सकेको छैन। यद्यपि, मन्त्री चौधरीले भने बुधबार मात्र कार्यविधि अर्थ मन्त्रालय पुगिसकेको र अर्थमन्त्रीसँग पनि यसबारे कुराकानी भएको दाबी गरे।

‘कार्यविधि र आवश्यक प्रक्रिया आज मात्र अर्थ मन्त्रालय पुगिसकेको छ। त्यसैले समयसीमा नै खेल आयोजना हुन्छ। आवश्यक टेन्डर प्रक्रियाका लागि पनि समयसीमा पुग्छ, ढुक्क हुनुस्,’ खेलकुदमन्त्री चौधरीले भने।

यद्यपि, मन्त्री चौधरीले भनेजस्तो नभए विवादका बाबजुद मिति तय भएको दशौं खेलकुदको आयोजना दोस्रोपल्ट सर्नेछ। २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद समापानकै दिन दशौं खेलकुद आयोजनाको मिति र स्थान निर्धारण गरेको थियो। कर्णाली प्रदेशमा गत मंसिर २ गतेदेखि दशौंको मिति निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन पाएको थिएन।

पछिल्ला समय मन्त्री चौधरी खेलकुद आयोजना गर्न तयार देखिए पनि बोर्डको विवाद र आवश्यक प्रक्रिया पूरा हुन नसक्दा यसै वर्ष दशौं खेलकुद हुनेमा अझै शंका छ। यसै पनि मन्त्री चौधरीले आवश्यक पूर्वाधारको अभावले कर्णालीमा तय दशौं खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगन्ज र काठमाडौंमा हुने उल्लेख गरेका छन्। कर्णालीमा बाटो, आवश्यक स्वास्थ्य सेवा र बसोबासका लागि होटल लगायतका विषयमा समस्या हुन सक्ने भएकाले सबै खेल कर्णालीमा नै गर्न नसकिने मन्त्री चौधरीको आसय थियो।

उनले आगामी माघ ३ गतेको राखेप बोर्डको बैठकले थप टुङ्गो लगाउने बताएका छन्। उनले दशौं राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन्। यसअघि दशौं खेलकुदमा ३६ वटा खेल प्रतिस्पर्धा हुने भनिएको थियो। तर, मन्त्री चौधरीले २४ वटा खेल मात्र हुने र त्यसमा पनि अबको बोर्ड बैठकबाट मात्र यसबारे निर्णय हुने स्पष्ट पारेका छन्।

प्रदेश खेलकुद परिषद्को जिम्मेवारी बढाउँछौं: घिसिङ

राखेपका सदस्यसचिव टंकलाल घिसिङले देश संघीय संरचना गएसँगै राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै लगिएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद परिषद्का जिम्मेवारी बढाइने बताएका छन्।

दशौं खेलकुद सचिवालय उद्घाटनका क्रममा खेलकुदमन्त्री (बायाँ) र सदस्य सचिव । तस्बिर: नागरिक

दशौं खेलकुदको सचिवालय उद्घाटनका अवसरमा सदस्यसचिव घिसिङले खेलाडी छनोट प्रक्रिया यसअघि प्रदेशले नै गर्दै आएको र अब खेलपोसाकसँगै यातायातको व्यवस्थापन पनि सम्बन्धित प्रदेशलाई नै जिम्मेवारी दिने बताएका हुन्।

प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोसाक हुन सक्ने पनि उनको भनाइ छ। विभाग र प्रदेशले नै तयारी गरिसकेको घिसिङले उल्लेख गरेका छन्। उनले दशौं खेलकुदमा एनआरएनएको टोली सहभागी हुने या नहुने टुङ्गो नलागेको स्पष्ट पारेका छन्।

यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने सदस्यसचिव घिसिङको भनाइ छ। उनले कर्णालीले २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलका बारे थप छलफल हुने बताएका छन्। सदस्यसचिव घिसिङले कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन/समापन कसरी हुनेलगायत विषय क्रमैसँग समयमै सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

प्रकाशित: २५ पुस २०८१ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App