१५ पुस २०८१ सोमबार
image/svg+xml
खेल

एनपिएलको पहिलो च्याम्पियन- जनकपुर बोल्ट्स

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो।

जनकपुरले १८५ रनको लक्ष्य ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टायो। जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद एक करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छ।

१८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरको जितमा ओपनर ब्याटर लहिरु मिलान्था नायक रहे। उनले ४९ बलमा ८७ रनको पारी खेले। जसमा ९ चौका र ४ छक्का प्रहार गरे। उनी स्कट कगलाइनको बलमा आउट हुनुपूर्व खेललाई एकतर्फी बनाइसकेका थिए। उनीबाहेक कप्तान आशिफ शेखले १९ बलमा ३३, हर्ष ठाकरले ३० रनको योगदान दिए। 

सुदूरपश्चिमका तर्फबाट बलिङ र फिल्डिङ निकै निराशाजनक रह्यो। ब्याटरले गरेको उत्कृष्ट प्रदर्शन बलरले दोहोर्‍याउन नसक्दा सुदूरपश्चिमले हार ब्यहोरेको छ। जनकपुरलाई जिताउन भूमिका खेलेका मिलान्थाले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिँह ऐरीबाट एक पटक जीवनदान पाए । यस्तै हर्ष ठाकरको क्याच पनि ब्रान्डन म्याकमुलनले एक पटक छाडेका थिए।  सुदूरपश्चिमका स्कट कगलाइन, सैफ जैब, इशान पाण्डे र दीपेन्द्रले एकरएक विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैफले ११७ रनको उत्कृष्ट साझेदारी गरेका थिए। जसमा जैबले ४३ बलमा ६९ रन बनाए। जसमा ८ चौका र २ छक्का सामेल छन्। यस्तै विनोदले ३१ बलमा ४१ रनको योगदान दिने क्रममा तीन छक्का र एक चौका प्रहार गरेका थिए।

तर त्यसपछिका ब्याटरले राम्रो ‘फिनिसिङ’ गर्न नसक्दा सुदूरपश्चिम २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रनमा रोकिएको थियो। सुरुमा चुकेका जनकपुरका बलरले स्लग ओभरमा खेलमा फर्कने क्रममा किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए।

यस्तै जिम्मी निसम र ललित राजवंशीले एक/एक विकेट लिएका थिए।  

प्रकाशित: ६ पुस २०८१ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App