१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप फाइनल: नेपाललाई इतिहास बनाउने अवसर

नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बाङ्लादेशसँग बुधबार भिड्दै छ।

यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधबार उपाधि भिडन्तमा साबिकको विजेता बाङ्लादेशविरुद्ध चुनौती प्रस्तुत गर्न लागेको हो। यसअघि नेपाल बलियो टोली भारतविरुद्ध र बाङ्लादेश भुटानमाथि जित निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। गत संस्करण पनि नेपाल घरेलु मैदानमा बाङ्लादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो। यसपल्ट गत संस्करणकै झल्को आएको छ। गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो।

नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ। तर, नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बदलाभन्दा पनि उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताएका छन्। ‘गत संस्करणमा पनि हामी बाङ्लादेशसँग पराजित भएका थियौं। यसपल्ट पनि सोही प्रतिद्वन्द्वी छ। तर, हामीले बदला लिनेभन्दा पनि च्याम्पियन बन्ने अवसरका रूपमा लिएका छौं। टोली राम्रो लयमा छ। यसपल्ट जित्न सकेनौं भने अझै ५–१० वर्ष पर्खनुपर्ने हुन्छ। त्यसैले जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं,’ एन्जिलाले भनिन्।

लगातार दोस्रो संस्करण भारतबिना फाइनलमा हुँदै छ। यसअघि सेमिफाइनलमा नेपालले भारतमाथि जित रच्दा विवादास्पद र तनावपूर्ण रहेको थियो। लगातार खेल प्रभावित पनि भयो। सेमिफाइनलको नतिजा निस्कन झन्डै साढे तीन घन्टाको समय पर्खनुपरेको थियो। यसबीच एक घन्टा १५ मिनेट खेल प्रभावित भए पनि नेपालले अन्ततः पेनाल्टी सुटआउटमा हराउँदै बाङ्लादेशसँगको भेट पक्का गरेको हो। तर, फाइनलमा नेपालले महत्त्ववपूर्ण स्ट्राइकर रेखा पौडेलले गुमाउनुपर्‍यो। उक्त खेलमा लगातार पहेंला कार्ड खाएपछि उनले फाइनल गुमाएकी हुन्।

उनी नेपालका लागि सर्वाधिक गोलकर्ता ९ सात गोल० पनि हुन्। त्यसैले उनको अभाव मैदानमा खड्किन सक्नेछ। तर, नेपालका प्रशिक्षक राजेन्द्र तामाङले रेखाको अभाव खड्किन नदिने स्पष्ट पारेका छन्। प्रशिक्षकले रेखाको अभाव हुन नदिन उनको विकल्पमा तयारी गरेको बताएका छन्। यसपल्ट नेपाली टोली यो अवसर खेर नफाल्ने लक्ष्यमा छ। नेपालकी कप्तान तथा गोलकिपर एन्जिलाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताइन्।

फाइनलअगाडि पत्रकार सम्मेलनमा एन्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन्। उनले बाङ्लादेश धेरै राम्रो टोली रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन आफ्नो टोली तयार र सक्षम रहेको प्रतिक्रिया दिएकी छन्। उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरणसमेत गरिन्। उक्त समर्थक फाइनलमा पनि आउँदा बलियो साथ मिल्ने उनको विश्वास छ। कप्तान एन्जिलाले अहिलेको टोली धेरै राम्रो र मजबुत रहेको पनि बताइन्। नेपालले साबिक विजेता बाङ्लादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ। गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बाङ्लादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो। कप्तान एन्जिलाले यो विगत भइसकेको र हाल आफ्नो टोली उच्च लयमा रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन्। ‘पाँच पटक उपविजेतामा चित्त बुझायौ। तर यो विगत हो। यी हारबाट धेरै कुरा सिकेका छौं। विगतका गल्ती दोहोर्‍याउने छैनौं। उपाधि घरमै राख्नेमा विश्वस्त छौं,’ एन्जिलाले भनिन्।

प्रशिक्षक राजेन्द्रले पनि टोलीको कमजोरी डिफेन्स लाइनमा सुधार भइसकेको उल्लेख गर्दै उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताए। उनले पनि अहिलेसम्मकै बलियो साथ घरेलु समर्थकबाट भारतविरुद्ध पाएको र फाइनलमा पनि त्यो अवसर मिल्ने उल्लेख गरे। यसले नेपाली टोलीको विश्वास बढ्ने उनको आशा छ। प्रशिक्षक तामाङले बाङ्लादेश धेरै राम्रो खेल्ने टोली रहेकाले गल्ती गर्ने छुट नहुने बताए। बाङ्लादेशले खेल्ने फुटबल शैली युरोपजस्तै रहेको र त्यसलाई रोक्न तयार रहेको उनको विश्वास छ। बाङ्लादेशको टोलीमा फाइनलअगाडि विवाद सिर्जना भएको छ। यसअघि पनि समूहचरणका खेलमा पनि बाङ्लादेशका प्रशिक्षक पिटर बटलरले अनुभवी खेलाडी तथा कप्तान सबिना खातुनलगायतलाई मैदानबाहिर राखेपछि टोलीमा विवाद सिर्जना भएको थियो। पत्रकार सम्मेलनमा पनि बाङ्लादेशी पत्रकारले प्रशिक्षकसामु अनुभवी खेलाडीलाई मैदानबाहिर राख्दा पाकिस्तानसँग बराबरीको नतिजा सामना गर्नुपरेको आरोप लगाएका थिए।

तर, उनले सबै खेलाडीमा क्षमता रहेको र आफ्ना लागि युवा खेलाडी पनि उतिकै महत्त्व रहेको बताएका थिए। भुटानविरुद्धको खेलअघि कप्तान साबिनाले फेसबुकमा प्रशिक्षकप्रति असन्तुष्टि जनाएकी थिइन्। टोलीका पूर्वप्रशिक्षक रब्बानी छोटोनले सबिनाको स्टेटसप्रति प्रतिक्रिया दिए र विवाद झन् उत्कर्षमा पुगेको थियो। पछि सबिनाले उक्त प्रतिक्रियाप्रति माफी माग्दै स्टेटस पनि हटाइन्। तर, त्यसपछि यो समस्या समाधान भएको देखिँदैन। मंगलबार पत्रकार सम्मेलनमा पनि ट्रफीसँगको फोटो सेसनमा पनि कप्तान र प्रशिक्षकबीच दूरी रहेको स्पष्ट देखिन्थ्यो।

टोलीभित्रको फुट नेपालका लागि फाइदा बन्न सक्छ। तथापि, बाङ्लादेशसँग बेन्च पनि बलियो छ। इङ्लिस प्रिमियर लिग खेलिसकेका प्रशिक्षक पिटरले हरेक युवा  खेलाडीलाई राम्रोसँग प्रयोग गर्दै नतिजा पनि दिएकाले नेपालका लागि सहज नहुने प्रस्ट छ।

बाङ्लादेशकी कप्तान सबिनाले फाइनल दुवै टोलीका लागि निकै कठिन हुने बताएकी छन्। बाङ्लादेशका प्रशिक्षक पिटरले बलियो मानसिकताका साथ फाइनल खेले राम्रो नतिजा आउने धारणा राखेका छन्। उनले दुवै टोली राम्रा रहेकाले फाइनलमा राम्रो प्रतिस्पर्धा देखिने आशा व्यक्त गरे। अखिल नेपाल फुटबल संघ ९एन्फा० आफैंले फाइनलको टिकट बिक्री गर्ने भएको छ।

एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग भएको सम्झौता रद्द गर्दै टिकट आफैँले बेच्ने जनाएको हो। बुधबार बिहान ८ बजेदेखि एन्फाले बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्टले एन्फासँग टेन्डर प्रक्रियामार्फत ८० लाख रूपैयाँमा साफ च्याम्पियनसिपको सम्पूर्ण टिकेटिङ अधिकार लिएको थियो। तर, आइतबार सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले सम्झौता रद्द गरेको हो।  

प्रकाशित: १४ कार्तिक २०८१ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App