१६ माघ २०८१ बुधबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप: तनावपूर्ण खेलमा नेपालको उत्कृष्ट पुनरागमन

‘हामीले यति धेरै समर्थकको साथ कहिल्यै पाएका थिएनौं। दर्शक कराउँदा हाम्रा शरीरमा काँडा उम्रिएका थिए। तर, पनि हामीले राम्रो खेल्न सकिरहेका थिएनौं। त्यसैले यो अवसर गुमाउन नदिन खेल्ने निर्णय गर्‍यौं,’ सेमिफाइनलमा भारतमाथि रोमाञ्चक जितपछि नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले भनिन्।

विवादास्पद र तनावपूर्ण सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो। उक्त खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को प्रदर्शन यादगार रह्यो। एक खेलाडीबिना र १–० ले पछाडि परेको स्थितिमा साम्बाको नेतृत्वदायी भूमिका र प्रदर्शन तारिफयोग्य थियो। सावित्राले नै नेपाललाई खेलमा फर्काएकी हुन्। बराबरीको स्थितिमा नेपाललाई फर्काउन उनको गोल लोभलाग्दो रह्यो। साथै उनले पेनाल्टी सुटआउटमा पनि गोल गरिन्। सोही प्रदर्शनका कारण सावित्रा प्लेअर अफ द म्याच पनि भइन्।

दशरथ रंगशालामा क्षमताभन्दा पनि बढी समर्थक थिए। जहाँ नेपाली समर्थकले पहिलोपल्ट यति धेरै तनावपूर्ण र विवादास्पद खेल देखे। खेलको पहिलो हाफ भुटानकी मुख्य रेफ्री ओम छोकीको पूर्ण नियन्त्रणमा थियो । खेल पनि गोलरहित बराबरीमै सकियो। तर, दोस्रो हाफको केही समयसम्म पनि खेल विवादरहित चल्यो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको ५०औं मिनेटसम्म छोकीले खेल आफ्नो नियन्त्रणमा राखेकी थिइन्। एक मिनेटपछि रेखा पौडेलले दोहोरो पहेंलो कार्ड सामना गरिन्। रेखा मैदानबाट बाहिरिँदा उनले खेलकी रेफ्री छोकीलाई धकेलिइन्।

यससँगै नेपाली समर्थक पनि रेफ्रीको निर्णयप्रति असन्तुष्ट बने। सम्भवतः रेखाले दोस्रो पहेंलो कार्ड सामना गर्नुपर्ने फाउल पनि देखिएको थिएन । एक खेलाडी कम भएपछि खेल मुख्य रेफ्री छोकीको नियन्त्रणभन्दा बाहिर गयो। घरेलु दर्शक आक्रामक बन्दै खेलका रेफ्री र विपक्षी टोलीमाथि बोतल प्रहार गर्न थाले। भारतकी डिफेन्डर चन्नु सोरोखैबमलाई फाउल गरेको भन्दै रेफ्रीले रेखालाई दोहोरो पहेंलो कार्ड दिएकी थिइन्। त्यसपछि करिब १० मिनेट नै खेल प्रभावित बन्न पुग्यो। नेपाली खेलाडीको आग्रहपछि दर्शक शान्त बने। ६१औं मिनेटमा खेल सुरु भयो। एक खेलाडीबिना नेपाल दबाबमा पर्‍यो।

यसको फाइदा लिँदै भारतले गोल गर्‍यो र १८ हजार ९ जना दर्शक एकैपल्ट शान्त बने। लगत्तै नेपालले मध्यभागबाट बल सुरु गर्दै गोल पनि गर्‍यो। तर, छोकीले गोल मान्यता दिइनन्। छोकीले नै बल चलाउन निर्देशन दिएको भन्दै यसपल्ट नेपाली खेलाडी नै प्रतिवादमा उत्रिए र झन्डै एक घण्टा खेल रोकियो। ‘सुरुमा रेफ्रीले नै बल चलाउन सिटी फुकिन्। तर, गोल दिइनन्। विपक्षी गोलकिपर तयार नभएकाले गोल नदिएको बताइन्। पछि मैले चलाउन निर्देशन दिएकै छैन भनिन्,’ खेलपछि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले भने। एन्फा पदाधिकारीको लगातार प्रयासपछि नेपाली खेलाडी खेल्न तयार भए। त्यसपछि नेपाली खेलाडीको पुनरागमन दमदार रह्यो र एकता बलियो बन्यो।

यो नै जितको बलियो आधार थियो। ‘एक खेलाडीबिना र १–० ले पछि परेका स्थितिमा पनि सबै एकजुट भएर खेल्यौं। डिफेन्स समालिरहेका थिए। मैले गोल गर्न सकेको थिइनँ। त्यसैले एउटा बल देऊ म खेल फर्काउँछु भनेको थिएँ। त्यहीअनुरूप बल आयो र गोल गरेँ। त्यसपछि भारत दबाबमा पर्‍यो र जित पनि निकाल्यौं,’ साम्बाले भनिन्। त्यसअघि २०औं मिनेटमा भारतकी ज्योति चौहानले गोल गर्ने सुन्दर अवसर गुमाउँदा नेपाललाई राहत मिल्यो। कर्नरबाट आएको बललाई उनी ८ यार्डबाट जाली चुमाउन असफल भइन्। त्यसअघि दुवैतर्फबाट लामा प्रहार भए।

नेपालले ३१औं मिनेटमा पहिलो सुन्दर अवसर बनाएको हो। तर, भारतीय गोलकिपर देवी वाङखेनले उत्कृष्ट बचाउ गरिन्। अमिशा कार्कीले पेनाल्टी बक्सबाट गरेको प्रहार देवीले पन्च गर्दै बाहिर पठाइन्। ४३औं मिनेटमा सावित्राले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पनि प्रभावकारी भएन। पहिलो हाफको थप समयमा भारतले फ्रिकिकमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि नेपालका डिफेन्डरले लगातार तीन पल्टसम्म बचाए। यससँगै पहिलो हाफ गोलरहित बराबरीमै सकियो। दोस्रो हाफमा दुवै तर्फबाट सुरुआती गोल प्रयास भए। रेखा मैदानबाट बाहिरिएपछि भारतले गोल गर्‍यो। ६१औं मिनेटमा भारतकी संगीता बासफोरको उत्कृष्ट गोलसँगै नेपाली समर्थक स्तब्ध भए।

चान्नुले लेफ्ट साइडबाट दिएको ब्याक पास नियन्त्रणमा लिँदै संगीताले करिब ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बाप्पोको पहुँचमै रहेन । लगत्तै नेपालले बल चलायो र त्यति बेलासम्म भारतीय खेलाडी मैदानबाहिर थिए। सोही मुभमा प्रीति राईले गोल गरिन्। रेफ्री छोकीले उक्त गोल अमान्य घोषणा गरिन् । रेफ्री छोकीले बल सुरु गर्न ढिलाइ गरेको भन्दै भारतकी सहायक प्रशिक्षक प्रिया पराथीलाई पहेंलो कार्ड दिइन् । तर, पनि नेपाली टोली गोल अमान्यप्रति असन्तुष्ट भए। फेरि खेल रोकियो। म्याच कमिस्नर दोर्जी मिन्दु र रेफ्री एसेसर रेबेलो मारियाले खेल सुरू गर्न पटकपटक प्रयास गरे पनि सफल भएनन्।

तर, नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान किरण चेम्जोङको आग्रहपछि नेपाली महिला टोली खेल्न तयार भयो। साम्बाले पनि त्यो कुरा पुष्टि गरिन्। नेपालमाथि प्रतिबन्ध र जरिवाना हुने भएपछि खेलेको साम्बाले प्रतिक्रिया दिइन्। तर, खेलमा फर्कन्छौं भन्ने विश्वास टोलीमा रहेको पनि उनको भनाइ थियो। ६२औं मिनेटदेखि खेल पुनः सुरु भयो। चार मिनेटपछि नै सावित्राले गोल फर्काइन्। प्रीति राईले करिब मध्य भागबाट दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै सावित्राले गोल गरेकी हुन्। भारतकी गोलकिपर देवी अगाडि बढेको अवस्थामा दुई डिफेन्डरका बीचबाट सावित्राले खाली पोस्टमा गोल गरेकी हुन्।

गोलपछि नेपाली खेलाडीले आक्रामक शैलीको फुटबल खेले। इन्जुरी समयको पहिलो मिनेटमा सावित्राको प्रहार भारतकी गोलकिपर देवीले उत्कृष्ट बचाउ गरिन्। त्यसपछि थप गोल भएन र खेल निर्णयका लागि पेनाल्टी सुटआउटतर्फ धकेलियो। भारतकी कप्तान असलता देवीको पहिलो पेनाल्टी नेपालकी गोलकिपर अञ्जना रानामगरको हातमा लाग्दै बारमा ठोकिएर फर्कियो। अञ्जनालाई पेनाल्टी सुटका लागि इन्जुरी समयमा एन्जिलाको स्थानमा मैदानमा ल्याइएको थियो। उनी सफल पनि भइन्। उनले चौथो पेनाल्टी पनि रोकिन्। नेपालको पहिलो प्रहारमा सावित्राले गोल गरिन्।

भारतको तर्फबाट मनीषा र पुरुषोत्तम शिरकोइकारले गोल गरे। तर, अञ्जनाले भारतकी चानु सोरोखैबमको पेनाल्टी रोकिन्। नेपालका लागि भने गीता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गरे। यससँगै नेपाल ४–२ ले विजयी भयो। अब नेपालले बुधबार उपाधिका लागि बाङ्लादेशसँग खेल्नेछ। आइतबार नै साबिकको विजेता बाङ्लादेशले पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को जित निकाल्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गरेको हो। भारतका प्रशिक्षक सन्तोष कश्यपले फुटबलमा कहिलेकाहीँ यस्ता घटना हुने र यो फुटबलको एक पार्टकै रूपमा रहेको प्रतिक्रिया दिए। आफ्नो देशको महिला फुटबलमा त्यति धेरै समर्थकको साथ नहुने र नेपाली महिला टोलीले पाएको साथ गर्विलो रहेको उनले उल्लेख गरे। 

प्रकाशित: १२ कार्तिक २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App