१७ माघ २०८१ बिहीबार
image/svg+xml
खेल

नारदमुनि गोल्डकप: बागमतीको विजयी सुरुवात

उदयपुरमा सुरु ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ मा गतवर्षको विजेता बागमती स्पोर्टस् क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ।

चौदण्डीगढी नगरपालिका-४, बसाहामा मंगलबार भएको उद्घाटन खेलमा बागमतीले काठमाडौंको शङ्कटा फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै सुखद सुरुवात गर्‍यो।

९० मिनेटको निर्धारित खेल गोलरहित रहेपछि थप गरिएको २ मिनेटको इन्ज्युरी समयमा अफ्रिकन खेलाडी हानाले निर्णायक गोल गर्दै बागमतीलाई जित दिलाएका हुन्।

आयोजक बसाहा क्लबका अनुसार बुधबारको खेल झापा-११ फुटबल क्लब र आयोजक बसाहा क्लबबीच हुनेछ। तेस्रो दिन सिराहाको सलेश युवा क्लब र मोरङको एलएक्स सिटी क्लब भिड्नेछन्। त्यस्तै, १८ गते सप्तरीको न्यू त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर र सुनसरीको एभरेष्ट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

बसाहाको बर्खेडाँडास्थित ‘नारद मुनि थुलुङ रंगशाला’मा जारी प्रतियोगिताको सेमिफाइनल खेल माघ १९ र २० गते हुनेछ भने फाइनल माघ २२ गते आयोजना हुने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए।

गत असोज १७ देखि गर्ने भनिएको प्रतियोगिता विविध कारणले चार महिनापछि आयोजना गरिएको हो। यसअघि खेल्न तयार मोरङको विराट मेघा स्पोर्टिङ एकेडेमी र काठमाडौंको चित्लाङ फुटबल क्लबले यो पटक सहभागीता जनाउन सकेनन्। उनीहरूको स्थानमा मोरङको एलएक्स र काठमाडौंको शङ्कटा क्लबले स्थान लिएका छन्।

उदयपुरकै पहिलो र सबैभन्दा ठूलो पुरस्कार राशीको गोल्डकपको विजेताले ट्रफी र नगद ५ लाख पाउनेछन्। उपविजेताले नगद २ लाख २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, मिडफिल्डर, गोलरक्षक, र उदीयमान खेलाडीले जनही नगद ५ हजारसहित मेडल पाउनेछन्।

राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनका अगुवा नारदमुनि थुलुङको स्मृतिमा बसाहा क्लबले डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

स्थानीयवासीले क्रान्तिकारी योद्धा थुलुङलाई आदर्श पुरुषका रूपमा सम्मान गर्दै उनको नाममा शिक्षा संस्था र रंगशाला स्थापना गरेका छन्। यो गोल्डकपको यो पटकको संस्करण दशौं हो।

प्रकाशित: १५ माघ २०८१ २१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App