ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशले संयुक्त सैन्य अभ्यास गरेका छन्। डेनमार्कको विदेश मन्त्रालयले साझा बयान जारी गर्दै यसको जानकारी दिएको हो। यस सैन्य अभ्यासमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायत सहभागी भएका छन्।
साझा बयानमा भनिएको छ, ‘नेटोका सदस्यका रूपमा हामी साझा ट्रान्सअटलान्टिक हितलाई ध्यानमा राख्दै आर्कटिक क्षेत्रको सुरक्षा मजबुत बनाउने प्रतिबद्धतामा छौँ। पहिले नै समन्वय गरिएको ‘आर्कटिक एन्ड्युरेन्स’ अभ्यास यही आवश्यकता अनुसार सहयोगी राष्ट्रहरूसँग मिलेर डेनमार्कले सञ्चालन गरेको अभ्यास हो। यसले कसैलाई पनि कुनै खतरा पु–याउँदैन।’
बयानमा थप भनिएको छ, ‘हामी डेनमार्क र ग्रीनल्यान्डका जनतासँग पूर्ण एकताका साथ उभिएका छौँ। गत हप्ता सुरु भएको प्रक्रियालाई अगाडि बढाउँदै, हामी संप्रभुता र क्षेत्रीय अखण्डताका ती सिद्धान्तहरूका आधारमा वार्ताका लागि तयार छौँ, जसको हामी दृढ समर्थन गर्छौँ।’
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशमाथि १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका थिए। साझा बयानमा यस विषयमा पनि टिप्पणी गरिएको छ।
बयानमा भनिएको छ ‘ट्यारिफको धम्कीले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर बनाउँछ र खतरनाक अवनतिको जोखिम बढाउँछ। हामी हाम्रो प्रतिक्रियामा एकताबद्ध र समन्वित रहनेछौँ। हामी आफ्नो संप्रभुता जोगाउन प्रतिबद्ध छौँ।’
हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने विषयमा पटक–पटक जोड दिँदै आएका छन्। यस सम्बन्धमा उनले दिएका विभिन्न अभिव्यक्तिप्रति डेनमार्कसहित युरोपका धेरै देशहरूले विरोध जनाएका छन्।
ट्रम्पको तर्क छ कि ग्रीनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै आवश्यक छ। उनका अनुसार यदि अमेरिका ग्रीनल्यान्डलाई आफ्नो अधीनमा नल्याए चीन र रुसले त्यहाँ कब्जा जमाउने छन्। ग्रीनल्यान्ड डेनमार्कको अर्ध–स्वायत्त टापु हो। त्यहाँ आफ्नै सरकार छ। एजेन्सी
प्रकाशित: ५ माघ २०८२ ०८:१५ सोमबार





