३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

काठमाडौं महानगरको सुखद सुरुआत

काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

लैनचौर फुटसल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा काठमाडौं महानगरपालिकाले आयोजक वडा–२३ लाई टाइब्रेकरमा २–१ ले हराउँदै सुखद सुरुआत गरेको हो। पहिलो दिन नै भएका अन्य खेलमा वडा–२ र वडा–६ ले पनि जित निकाले। 

काठमाडौं महानगरपालिका र वडा–२३ ले निर्धारित समयमा १–१ गोलको बराबरीमा खेलेका थिए। अनुप प्रधानले काठमाडौं महानगरपालिकालाई अग्रता दिलाएका थिए। तर, वडा–२३ का राजीव चित्रकारले गोल फर्काउँदै बराबरीमा ल्याए। त्यसपछि खेलको निर्णयका लागि टाईब्रेकरतर्फ धकलेलियो। जहाँ काठमाडौंले जितसँगै प्रिक्वार्टरफाइनलमा स्थान बनायो।

काठमाडौं महानगरपालिकाका अनुप म्यान अफ दी म्याच भए। दोस्रो खेलमा वडा–९ ले वडा–२७ लाई २–० ले पराजित गर्‍यो। विजयी टोलीका लागि दुवै गोल मिङ्मा लामा तामाङले गरे। मिङ्मा नै म्यान अफ दी म्याच चुनिए। तेस्रो खेलमा वडा–६ ले वडा–११ लाई ३–२ ले निराश बनायो। वडा–६ का लागि विपल्व लामा, दीपेश श्रेष्ठ र केशव भण्डारी गोल गरे। वडा–११ का लागि जनक कोइराला र रितेश महतोले गोल फर्काए। सो खेलमा वडा–६ का केशवले म्यान अफ दी म्याचको पुरस्कार पाए।

यसअघि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन्। काठमाडौं महानगरपालिकासहित कुल ३१ वडाले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रूपैयाँ पाउनेछ। उपविजेताले एक लाख रूपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि जनही दस हजार रूपैया नगद पुरस्कार पाउनेछन्। 

प्रकाशित: २ आश्विन २०८१ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App