१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रोटरी भेट्रान्स फुटबलमा चितवनको जित सुरुवात

फोटो: प्रतियोगिताको उद्घाटन गर्दै मेयर मीनाकुमारी लामा ।

रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सुरु भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजय यात्रा सुरु गरेको छ ।

हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै चितवनले विजय यात्रा सुरु गरेको हो । निर्धारित समयको खेल एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा नागस्वती भेट्रान्सले नै सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । नेपालका १५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले सबै खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताइन् । 

प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लव, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लव झापा, एस.एन.के.सी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ । ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडमा सञ्चालन भएको छ । यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिएको हो ।

 भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्टलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो । 

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिँदै जाने लक्ष्य रहेको प्रतियोगिता संयोजक मोहन ढकालले बताए । रोटरी क्लव अफ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोट¥याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहेको छ । प्रतियोगीताका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने आयोजक बताएको छ । यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लवले जितेको थियो ।

प्रकाशित: २४ भाद्र २०८१ २०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App