३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

एनएसजेएफ स्पोर्टस् अवार्ड : वाफबाट चर्चामा छाएकी प्रीति

नेपाली महिला टोली र मिडफिल्डर प्रीति राईका लागि साउदी अरेबियामा भएको वाफ वुमेन्स च्याम्पियनसिप २०२४ सदैव विशेष छ।

यो यही च्याम्पियनसिपमा हो जहाँ नेपाल ऐतिहासिक सफलताबाट चुकेको। फाइनलमा जोर्डनसँग पराजित हुँदाको क्षण नेपाली टोलीले सायदै बिर्सने छ। यता, प्रीतिको व्यक्तिगत करियरमा भने यस प्रतियोगिताले महत्व राख्छ।

यो च्याम्पियनसिपमा उनको प्रदर्शनले छाप छोड्यो भने करियरलाई पनि थप उचाइ पुर्‍याएको छ। त्यसैले वाफ वुमेन्स च्याम्पियनसिपको सनसनी कसले मात्र बिर्सन सक्छ र ? उपाधिको निकै नजिक त पुगेको थियो, तर पनि त्यसलाई चुम्न भने सकेन। फाइनलमा नेपाल टाइब्रेकरमा जोर्डनसँग पराजित भएको थियो।

नेपाल फेरि एकपल्ट उपविजेतामै सीमित रह्यो। तर जसरी नेपाली टोलीले पूरा प्रतियोगिता खेलेको थियो, त्यसलाई सबैले राम्रै माने। त्यही प्रतियोगितामा नेपालका लागि चम्केकी खेलाडी हुन्, प्रीति राई।

त्यही प्रतियोगिताको सेमिफाइनलमा लेबनानसँग भिडेको थियो र खेलले दोस्रो हाफको इन्जुरी समय छोइसकेको थियो, खेल बराबरीमै थियो। त्यही बेला प्रीतिले आकर्षक गोल गरिन्। नेपालले जित्यो, सबैले उनको प्रदर्शनको प्रशंसा पनि गरे।

फाइनलमा भने उनी घाइते हुँदै मैदान छाड्न बाध्य रहिन्। उनी पूरा समय मैदानमै रहेको भए के हुन्थ्यो होला ? यो प्रश्न नेपाली महिला फुटबलमा सधैं रहिरहने छ।

पछिल्लो समय नेपाली महिला फुटबलको ‘अनुहार’ बनेकी छिन् उनी। टोलीबारे कुरा मात्र सुरु गर्नुपर्छ, पहिलो पटक मनमा आउने खेलाडीको अनुहार भनेको प्रीतिकै हो। उचाइ पनि धेरै छैन, दुब्ली पनि छिन्।

तर मिडफिल्डमा उनको प्रस्तुति भने त्यो शरीरले दिने भावभन्दा धेरै फरक हुन्छ। उनी जुझारु खेलाडी हुन्, जस्तै परिस्थितिमा पनि जुडेर खेल्छिन्। फेरि मिडफिल्डमा उनको प्रदर्शन आफैंमा दर्शनीय हुने गर्छ, उनको खुट्टामा बल पर्‍यो कि हेरिरहुँ जस्तो, कलात्मक।

वर्ष २०८० मा सबैभन्दा चर्चामा रहने खेलाडीमा परिन् प्रीति। त्यसैले उनी अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को पिपुल्स च्वाइस अवार्डको प्रत्याशीका रूपमा छिन्।

‘यो अवार्डको प्रत्याशी हुन पाउ“दा खुसी छु। यसअघि मैले यसै विधामा सावित्रा र एन्जिला दिदी परेको सुनेको थिए“। त्यही बेला यो अवार्डप्रति मेरो आकर्षण बढेको थियो र लागेको थियो, कुनै दिन त्यस्तो पनि आउने छ, जुन बेला यो विधाको प्रत्याशीमा मेरो पनि नाम हुनेछ।’

अहिले एन्फा वुमेन्स लिग २०२४ चलिरहेको छ र उनी एपिएफको प्रतिनिधित्व गर्दै त्यसमा खेलिरहेकी छिन्। फेरि उनको नजर अब हुने वुमेन्स साफ च्याम्पिनसिप २०२४ मा पनि छ। प्रीतिलाई लाग्छ, यसपल्ट नेपालले यो उपाधि जित्ने सम्भावना धेरै छ। यसका अनेक कारण हुन सक्छन्।

पहिलो कारण, अब केही हदसम्म नेपाली महिला टोली परिपक्व भएको छ, यो टोलीसँग अब अनुभवको कमी छैन। फेरि त्यही वाफ वुमेन्स च्याम्पियनसिपमा फर्कने हो भने यो यस्तो प्रतियोगिता रह्यो, जसले नेपाललाई आत्मविश्वास दिएको छ। अब भारतको सामना गर्दा नेपाल मानसिक रूपमा कमजोर हुने स्थिति पनि छैन।

भलै नेपाली महिला राष्ट्रिय टिमले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन्। तर त्यसतर्फ अग्रसर भने छ, कम्तीमा उपाधि जित्ने बाटोमा हिँड्ने प्रयास त गरेको छ। यसका लागि सबैभन्दा महत्वपूर्ण खेलाडीमा पर्छिन्, प्रीति।

मिडफिल्डमा उनी कमाल गर्छिन् नै, पछिल्लो समय उनी लामो दूरीबाट शक्तिशाली प्रहार गर्ने अचुक अस्त्रका रूपमा आफूलाई अभ्यस्त राख्ने प्रयासमा पनि छिन्। त्यति मात्र होइन्, प्रीति भर्खर १९ वर्षकी भइन्। उनको अगाडि एक दशकभन्दा बढीको फुटबल जीवन छ। उमेरसमूहको फुटबलबाट माथि उठेकी प्रीतिलाई त्यसै कारण नेपाली महिला फुटबलको भविष्य पनि भन्न सकिन्छ।

उनले पालेको एउटा अर्को सपना पनि छ, युरोपमा खेल्ने। अहिलेसम्म सावित्रा भण्डारीले यो उपलब्धि चुमिसकेकी छिन्। यही बाटोमा छिन्, एन्जिला सुब्बा पनि। प्रीति पनि चाहन्छिन्, युरोपमा खेलेर बहुमूल्य अनुभव बटुल्ने।

त्यसो त खाडी देशबाट अहिले नै उनलाई प्रस्ताव नआएको पनि होइन, कुराकानी चलिरहकै छ। इन्डियन वुमेन्स लिगमा किक स्टार्ट्सका लागि खेलिसकेकी पनि छिन्। यो सबै अवस्थामा नेपाली फुटबल पारखीको काम भनेको सक्दो भोट हालेर प्रीतिलाई विजेता बनाउने हो।

उनी यसका लागि हकदार पनि छिन्। उनी भन्छिन्, ‘नेपाली महिला फुटबलको सम्भावना धेरै छ। नेपाली महिला फुटबलालई माया गर्नु पर्‍यो, प्रोत्साहन गर्नुपर्‍यो।’ 

प्रकाशित: २२ भाद्र २०८१ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App