३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

दिन मिल्ने-नमिल्नेबारे अध्ययन गर्छु : मन्त्री अधिकारी

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि माग भएको छ ।  

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

मन्त्री अधिकारीले देशैभरी नेपाल ट्रष्टको नाममा रहेको जग्गाको खोजी कार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको जानकारी गराए ।  

उनले नेपाल ट्रष्टको स्वामित्व कायम हुने ढंगले सल्लाघारीको १०८ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने नमिल्ने अध्ययन गरिने जानकारी गराए ।  

ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक लिजमा दिने विषयमा आवश्यक छलफल गरिने बताउँदै मन्त्री अधिकारीले संरक्षणको अभावमा दुरुपयोगको सम्भावना रहेको सल्लाघारीको १०८ रोपनी जग्गा संरक्षण र संबद्र्धन गर्न दुवै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।  

भेटमा सांसद सुवालले सल्लाघारीस्थित १०८ रोपनी जग्गाको पृष्ठभूमिबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न पटक पटक सल्लाघारीको उक्त जग्गा माग गर्दै आएको बताए ।  

उक्त क्षेत्रमा जग्गा अतिक्रमणका कारण क्षेत्रफल घटेको बताउँदै उनले भक्तपुर नपाले १०८ रोपनी जग्गा संरक्षण र संबद्र्धनको लागि पर्खाल निर्माण गरी संरक्षण र व्यवस्थापन समेत गर्दै आइरहेको प्रष्ट पारेका थिए ।  

नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको सहमतिमा नगरपालिकाको खर्चमा १०८ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाइ आवश्यकताअनुसार ५ वटा गेटको व्यवस्था गरी उक्त क्षेत्रको संरक्षण गर्दै आइरहेको जानकारी गराएका थिए ।  

मन्त्री अधिकारीसमक्ष नगरप्रमुख प्रजापतिले कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च माविमा २३ हजार ७४५, ख्वप इन्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इन्जिनियरिङमा २ हजार ६०३ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइ अध्ययन गरिसकेको जानकारी गराएका थिए ।  

प्रकाशित: ३१ भाद्र २०८१ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App