गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्।
शनिबार दिनभर उनले गरेकाे छड्के अनुगमनकाे भिडियो सार्वजनिक भएको छ। सुरक्षाकर्मीहरूलाई कुनै जानकारी नदिई गरिएको अनुगमनका क्रममा गृहमन्त्रीले नाका क्षेत्रका स्थानीय नागरिकसँग सीमापार तस्करीका विषयमा सोधपुछसमेत गरेका थिए।
सामान्य पोसाक मास्क, चस्मा र हाफ टिसर्टमा सीमा क्षेत्र पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले सशस्त्र प्रहरीका डिएसपीकै मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका थिए।
नाकामा जडान गरिएको सिसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी गराउने गरिएको गुनासो स्थानीयले गृहमन्त्रीसमक्ष राखेको सार्वजनिक भिडियोमा सुनिन्छ।
स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले, ‘सिसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनी प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्।
गृहमन्त्रीले सीमा क्षेत्रका स्थानीयसँग संवाद गरेको सो भिडियो कुन नाकाको हो भन्ने विषय भने प्रस्ट पारिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङ कुन समयमा सीमा नाकाहरूको अनुगमनमा निस्किए भन्नेबारे बारा र पर्साका सुरक्षा अधिकारीहरूले समेत पत्तो नपाएको पाइएको छ।
प्रकाशित: १३ असार २०८३ २२:४२ शनिबार





