४ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

रसुवाको भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहकार्यको प्रस्ताव र दुई देशबीचको आर्थिक–कूटनीतिक सम्बन्ध विस्तारमा जोड दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

भारत सरकारको निमन्त्रणामा ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली प्रस्थान गरेका अर्थमन्त्री डा. वाग्ले उच्चस्तरीय राजनीतिक, आर्थिक र प्राज्ञिक भेटघाट पूरा गरी शनिबार स्वदेश फर्किएका हुन्।

भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए।

समकक्षी सीतारमणसँगको भेटमा नेपाल–भारत आर्थिक सहकार्यका विविध आयामबारे मन्थन भएको थियो भने समग्र भेटघाट दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउन फलदायी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

नयाँदिल्ली बसाइँका क्रममा अर्थमन्त्री डा. वाग्लेले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। सोही अवसरमा उनले बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको ठोस प्रस्तावसमेत अघि सारेका छन्।

तीन दिने भ्रमणमा अर्थमन्त्री डा. वाग्ले विभिन्न कूटनीतिक र व्यावसायिक मञ्चहरूमा निकै व्यस्त रहे। शुक्रबार उनी पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी भए।

सोही दिन साँझ भारत व्यापार संवर्द्धन संगठनका अध्यक्ष जावेद असरफले आयोजना गरेको बृहत् भेटघाटमा पुगेका उनले दिउँसो प्रवासी नेपालीहरूको प्रतिनिधिमण्डलसँग पनि छलफल गरेका थिए।

स्वदेश फर्किनुअघि आज बिहान अर्थमन्त्री डा. वाग्लेले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित संविधान दिवसको विशेष कार्यक्रममा सहभागिता जनाएका थिए।

आजै उनले भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ता र दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।

प्रकाशित: ३ आश्विन २०८३ २३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App