३ आश्विन २०८३ शनिबार
image/svg+xml
अर्थ

साझाका २८ रात्रिकालीन विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो रात्रिकालीन सेवालाई विस्तार गरेको छ।

संविधान दिवसको अवसर पारेर कम्पनीले शनिबारदेखि उपत्यकाका ६ वटा मुख्य रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो।

नयाँ कार्यतालिका अनुसार अब सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म साझाका बसहरू छुट्नेछन्। यात्रुको चाप र आवश्यकताको विश्लेषण गरी आगामी दिनमा बसको संख्या र सेवाको समय थप समायोजन गर्दै लगिने कम्पनीले जनाएको छ।

विस्तारित सेवाअनुसार सबैभन्दा धेरै चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा बस सञ्चालन हुनेछन्।

यसैगरी, बुढानीलकण्ठ-गोदावरी रुटमा ६ वटा, जगाती-रत्नपार्क-ठमेल रुटमा ६ वटा, विमानस्थल-नागढुंगा रुटमा ४ वटा र कीर्तिपुर-जमल रुटमा ४ वटा विद्युतीय बसले सेवा दिनेछन्।

रिङरोडसहित भक्तपुरदेखि पर्यटकीय केन्द्र ठमेलसम्म जोडिएपछि उपत्यकाको ठूलो हिस्सा रात्रिकालीन यातायात सञ्जालमा जोडिने अपेक्षा गरिएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार कम्पनीले गत वैशाख १ गतेदेखि जम्मा ७ वटा बसमार्फत दुईवटा रुट (नागढुंगा-एयरपोर्ट र लगनखेल-बुढानीलकण्ठ) मा मात्र रात्रिकालीन सेवा सुरु गरेको थियो।

राति सार्वजनिक यातायातको माग बढ्दै गएको तर उपलब्धता न्यून रहेको अवस्थालाई ध्यानमा राखेर सेवालाई एकैपटक चार गुणाले बढाइएको सीईओ अर्यालले जानकारी दिए।

यस वृहत् सेवा विस्तारबाट राति अबेरसम्म कार्यालय, व्यवसाय र अन्य काममा खटिने नागरिक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित र सहज यात्राको अवसर मिल्नेछ।

साथै, सञ्चालनमा ल्याइएका सबै सवारीसाधन विद्युतीय भएकाले रात्रिकालीन सेवाले काठमाडौंको वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।

प्रकाशित: ३ आश्विन २०८३ २२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App