१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

आईसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणका खेलहरू सकिएका छन्। आज भएको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएसँगै समहू चरणका खेलहरू सकिएका हुन्। अब भोलिदेखि दुई समूहमा बाँडिएका ८ टीमबीच सुपर ८ का खेलहरू सुरु हुनेछन्।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए। जसमा १२ टीमको यात्रा टुङ्गिएको छ। जसमा नेपाल पनि रहेको छ। नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागीता जनाएको थियो। त्यतिबेला पनि समूह चरणबाटै बाहिरिएको थियो।

तर, १० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

समूह ‘डी’ मा रहेको नेपालले ४ खेल खेल्नु थियो। जसमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो भने दोस्रो खेल वर्षाका कारण रद्द भयो। तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ र अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले नेपाल पराजित हुन पुग्यो। दक्षिण अफ्रिका र बङ्गलादेश क्रिकेटका लागि चर्चित र निकै अनुभवी मुलुक हो। ती दुई मुलुकसँगको खेलमा नेपालको प्रदर्शनले विश्वको ध्यान आफूतिर तान्न सफल भयो। जित हासिल नगरेपनि प्रदर्शन निकै सराहनीय रहेको भन्दै क्रिकेटको सर्वोच्च निकाय इन्टरनेशनल क्रिकेट काउन्सिलदेखि अन्य निकाय र क्रिकेटका दिग्गजहरूले नेपालको तारिफ गरे।

यी सबका बाबजुद नेपालको अन्तिम दुबै खेलको निकै चर्चा भइरहेको छ। शनिवार दक्षिण अफ्रिकासँगको खेलको अन्तिम ओभरतिर नो बललाई यम्पायरले वेवास्ता गर्दै नो बल नदिएको विषय र अन्तिम बलमा गुलशन झा रनका लागि दौडिँदै गर्दा विकेट किपरले जानाजान गुलशनलाई लक्षित गरी बल हानेको विभिन्न भिडियो क्लिपमा देख्न सकिन्छ। हुन त विकेट किपरले उनलाई जानजान बल हानेका हुन् वा होइनन् त्यो अनुसन्धान गरे पत्ता लाग्ला. तर सामाजिक सञ्जालमा भने उक्त भिडियो निकै भाइरहल भइरहेको छ।

दक्षिण अफ्रिका र बङ्गलादेशसँगको खेलको क्रममा पनि यम्पायरले ब्याट्सम्यानले बलमा हान्दा चौका हुन्छ। र, सोही समय ब्याट्सम्यान आउट पनि हुन्छन्। तर, यम्पायरले बङ्गलादेशको भागमा ४ अङ्क जोड्दैन र विकेट आउट दिन्छन्।

सोमवार नेपाल र बङ्गलादेशसँगको खेलमा पनि यम्पायरले आईसिसीको नियम उल्लङ्घन गरेको विषय यति बेला चर्चमा छ। समूह चरणको आफ्नो अन्तिम खेल खेल्दै गर्दा १४ औँ ओभरमा यम्पायरले मनोमानी गरेको भिडियो भाइरल भइरहेको छ।

बङ्गलादेशले १४ औँ ओभरको आफ्नो ब्याटिङ्ग गरिरहँदा सन्दीप लामिछाने बलिङ्ग गर्दै थिए। सन्दीपले आफ्नो पहिलो बल फाल्दा बङ्गलादेशका तन्जीम हसन शाकिब स्ट्राइकमा थिए। उनको पछाडीको तिघ्रामा बल लाग्छ। शाकिब स्वीप गर्ने प्रयास गरिरहेका थिए। तर, सकेनन्। नेपाली खेलाडीले अपिल गरेपछि मैदानमा रहेका यम्पायर अहसान रजाले तन्जिमलाई आउट दिए। तन्जिम पनि मैदानबाट बाहिरिने तयारीमा थिए। तर, उनीसँगै मैदानमा रहेका जैकर अलीले रिभ्यू लिनका लागि तन्जिमलाई भने। त्यति हुँदै गर्दा जैकरले ड्रेसिङ्ग रुमतर्फ इशारामा सल्लाह लिएको भिडियोमा देख्न सकिन्छ।

आईसिसीको नियम अनुसार रिभ्यू लिने कुनैपनि टिमले १५ सेकेन्ड भित्र आफ्नो निर्णय गरिसक्नुपर्छ भने डगआउट/ड्रेसिङ्ग रुम तर्फ हेर्न पाउँदैन भने अरु कसैसँग सल्लाह लिन पाइँदैन। त्यति मात्र होइन, आईसिसीको म्याच प्लेइङ्ग कन्डिशन अनुसार यम्पायरलाई यदि फिल्डिङ्ग कप्तान वा ब्याट्सम्यानलाई बाहिरबाट कुनैपनि प्रकारको इशारा दिइएको जस्तो लागेमा उनले तत्काल त्यसलाई रद्द गर्न सक्नछन्। तर, बङ्गलादेशको रिभ्यूको समय बितिसकेपछि बल्ल तन्जिमले  रिभ्यूका लागि 'टी' साइन दिन्छन्। त्यसपछि मैदानमा रहेका यम्पायरले थर्ड यम्पायरलाई रिभ्यूका लागि पठाउँछन्।

जसमा तन्जिमलाई थर्ड यम्पायरले नट आउट दिन्छन्। तर, उनी धेरै बेर क्रिजमा टिक्न सकेनन् र सन्दीपको अघिल्लो बलमा आउट भए।

त्यति मात्रै होइन, बङ्गलादेशका बलर तन्जिम र नेपालका कप्तान रोहित पौडेलबीचको बहस पनि भाइरल भइरहेको छ। मैदानमा ब्याटिङ्गका लागि आएका कप्तान पौडेललाई तन्जिमले केही भनेको र उनले रोहितलाई धक्का समेत दिएको भिडियोहरूमा देख्न सकिन्छ।

प्रकाशित: ४ असार २०८१ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App