१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको सुपर ८ मा पुग्ने सम्भावना कस्तो छ ?

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ४ वटै समूहबाट ४ टिमले सुपर ८ मा स्थान सुरक्षित गरिसकेका छन्।

हालसम्म समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट अस्ट्रेलिया, समूह ‘सी’ बाट वेस्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सुपर ८ को यात्रा तय गरिसकेका छन्। अब थप ४ टिमले चार वटै समूहबाट सुपर ८ मा स्थान बनाउनका लागि आफ्ना प्रदर्शन बलियो बनाउनुपर्ने छ।

अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।

अबका आफ्ना दुई खेलमा राम्रो प्रदर्शन गर्दै नेपालले सुपर ८ को यात्रा तय गर्न सक्छ। तर, सहज भने हुने छैन। यदि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कालाई पराजित गरेको भए उसको २ अङ्क हुने थियो र सुपर ८ मा पुग्ने सम्भावना थप बलियो हुने थियो। तर, त्यसो नहुँदा उसले १ अङ्कमा चित्त बुझाउनु पर्‍यो।  

ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ को अङ्क तालिका हेर्ने हो भने दक्षिण अफ्रिका बाहेक सबै टिमको अवस्था कमजोर नै छ। हालसम्म ३ खेल खेलेको दक्षिण अफ्रिकाले ३ वटै खेलमा जित निकाल्दै ६ अङ्कका साथ समूहको शीर्ष स्थानमा रहेको छ। र, सुपर ८ मा पुगिसकेको छ। त्यसबाहेक २ खेल खेलेको बङ्गलादेशले १ मा जित निकाल्दै २ अङ्क जोडेर समूहको दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स पनि २ खेलमध्ये १ मा जित निकाल्दै नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ। जबकी नेपालले २ खेलमा एकमा हार र एक खेलमा अङ्क बाँडेर समूहको चौथो स्थानमा छ भने श्रीलङ्काले ३ खेलमा एउटा पनि जित निकालेको छैन र नेपालसँग अङ्क बाँडेर समूहको पुछारमा रहेको छ।

यो अवस्थामा अब नेपालले आफ्नो दुई खेल बङ्गलादेश र दक्षिण अफ्रिकासँग खेल्नु छ। जसमा दुबै खेलमा जित निकाल्नुपर्ने नेपालको बाध्यता हुनेछ, यदि नेपाल सुपर ८ मा पुग्न चाहन्छ भने। बाँकीका दुबै खेलमा जित निकाल्न सफल भएमा नेपाल ५ अङ्कसहित सुपर ८ मा पुग्न सक्छ।

नेपाल, बङ्गलादेश र नेदरल्यान्ड्स तीन वटै टिमलाई समान २/२ खेल खेल्नु छ। जसमा तीन वटै टिमले आफ्नो आगामी दुबै खेल जित्नै पर्ने हुन्छ, सुपर ८ मा पुग्नलाई। यदि त्यसो भएन भने यी मध्ये कोही एक सुपर ८ मा पुग्छ र बाँकी दुईको यात्रा सकिन्छ।

त्यसबाहेक यी दुबै टीमलाई साइड लगाउन नेपालले बङ्गलादेशसँगको खेलमा नेदरल्यान्ड्स पराजितको कामना गर्नुपर्ने हुन्छ। यदि बङ्गलादेशसँगको खेलमा नेदरल्यान्ड्स पराजित भयो भने ऊ ४ अङ्कमै रोकिन्छ र नेपाल ५ अङ्कसहित सुपर ८ मा पुग्ने छ। तर, त्यसका लागि भने नेपालले बङ्गलादेशसँगको खेलमा उसलाई हराउनै पर्ने बाध्यता हुन्छ।

अङ्क तालिकामा यसरी बुझौँः

नेदरल्यान्ड्स र बङ्गलादेशः दुबैमध्ये कोही एक जितेमा थप २ अङ्क। जम्मा ४ अङ्क। (यदि नेदरल्यान्ड्स पराजित भएमा २ अङ्कमै रोकिन्छ। अर्को खेलमा जितेपनि ४ अङ्कमा रोकिन्छ।)

नेपाल र बङ्गलादेशः नेपालले जित्नै पर्ने, जितेमा २ अङ्क, जम्मा ३ अङ्क। यदि नेपाल पराजित भयो भने बङ्गलादेशको २ अङ्क हुन आउँछ र ६ अङ्कसहित सुपर ८ मा पुग्ने छ। तर, त्यसका लागि बङ्गलादेशलाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने हुन्छ।

नेपाल र दक्षिण अप्रिकाः नेपाल जित्नै पर्ने, जितेमा २ अङ्क, जम्मा ५ अङ्कसहित सुपर ८ मा।

नेदरल्यान्ड्स र श्रीलङ्काः श्रीलङ्का जितेपनि अङ्कको काम छैन, नेदरल्यान्ड्स जितेमा २ अङ्क, जम्मा ६ अङ्कसहित सुपर ८ मा। (तर, त्यसका लागि बङ्गलादेशसँगको खेलमा जित्नै पर्ने)

प्रकाशित: ३१ जेष्ठ २०८१ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App