प्रतिभा सुपर लिग क्रिकेटको उपाधि आयोजक प्रतिभा माविले नै जितेको छ। पोखरा–३ पालिखेचोकस्थित प्रतिभा माविको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको हो।
पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा पोखरा–७, मासवारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयलाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो।
आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो। प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, मिसन विकले २१ बलमा १८ रनको योगदान दिए।
प्रतिभालाई विशाल स्कोर बनाउनबाट रोक्ने क्रममा मदरल्याण्डका भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडन ओभरसहित ४ रन खर्चेर ३ विकेट लिए भने विलोभ मल्ल, शद्रीस पौडेल, रोमिश भट्ट र शुभम् गिरीले समान १–१ विकेट लिए।
१३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो। मदरल्याण्डका लागि रोमिश भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सीमित बन्यो।
मदरल्याण्डलाई सस्तैमा समेट्न प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट र सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। खेलमा प्रतिभाका अलराउण्डर सफल श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए। च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो। उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्सम्यान र बालमन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने। उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो।
बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। ‘यसपटक छात्रहरुबाट शुरु गरेका छौं,उनले भने,‘आगामी वर्षदेखि छोराछोरीहरु सबैले खेल्नसक्ने गरी छात्र, छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँछु।’
प्रकाशित: २५ माघ २०८२ १६:३९ आइतबार





