१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

एसियाड फन रनमा खेलाडीहरू उत्साहित

नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिबार एसियन गेम्स फन रन सम्पन्न भएको छ।

जापानाको आइची नागोया शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ४ सम्म एसियाली खेलकुदको २०औं संस्करण आयोजना हुँदै छ । सोही एसियाली खेलकुदको प्रवर्द्धन तथा सफलताका लागि शनिबार ललितपुरमा तीन किलोमिटरको फन रन हुने भएको।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको फन रन सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रम बीच सुरु भएको थियो। करातेकी एरिका गुरुङसँगै एसियाली खेलकुदको तयारीमा रहेका विभिन्न खेलका खेलाडीहरू उक्त फन रनमा उत्साहजनक रूपमा सहभागी भए।

साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के र डा. मधुसुधन सुवेदी, ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका र सोही विभागका म्यानेजर मानामी ओकुमुरा  सहभागी थिए।

उक्त फन रन बिएन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल,  कनिबहा चोक, ओकुबहा, थैना, चक्रबही, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मङ्गलबजारमा पुगेर टुङिगएको थियो। विभिन्न खेलका प्रशिक्षकसँगै ओलम्पियन, खेल संघका पदाधकारी, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी गरी करिबब एक हजारले दौडमा सक्रिय रूपमा सहभागिता जनाएका थिए।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फर रन आइची नागोया एसियाडको प्रवर्धनका लागि मात्र नभइ जापानमा हुने आगामी एसियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र सो एसियाडको सफलताको कामनका लाग आयोजना गरिएको बताए।

एनओसीका महासचिव राजीव श्रेष्ठले फन रन सफल बनाउने सबै पक्षलाई धन्यवाद दिँदै यो स्थानीय सामुदायिक सहभागितासहित ओलम्पिकको मान्यता र भावना बुझाउने अभियान पनि रहेको धारणा व्यक्त गरे। फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो।

एनओसीले ओलम्पिक फन रनको आयोजना गरेको यो लगातार तेस्रो संस्करण हो। आगामी २०औं एसियाली खेलकुदमा कुल ४३ खेलअन्तर्गत ६८ विधाका चार सय ६१ इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुनेछ। आइची नागोया एसियाडमा कुल ५३ प्रतियोगिता स्थल छन्।

आगामी एसियाडमा केही समयअगाडि मात्र प्याडल र टेकबल गरी दुई खेल थप गरिएको छ। नेपालले आगामी एसियाली खेलकुदमा सहभागिताका लागि ३२ खेल दर्ता गरेको छ।  

प्रकाशित: १ चैत्र २०८२ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App