१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

ईनिशा हत्या : निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

नेपाल दलित मुक्ति मोर्चाले ईनिशा विकको हत्याको निष्पक्ष अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ। 

सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन आग्रह गरेको हो।

मोर्चाले घटनामा संलग्न दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै पीडित परिवारलाई भएका भौतिक र मानसिक क्षतिको मूल्याङ्कन गर्न र उचित क्षतिपुर्तिको माग गरेको छ। 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाए। उनले मुलुकमा दण्डहीनताको अन्त्य गरिनुपर्नेमा जोड दिँदै कुनैपनि प्रकारका आपराधिक गतिविधि र अवान्छित घटनाहरूलाई नियन्त्रण गर्दै शान्ति र सुव्यवस्था कायम राख्न सरकार जिम्मेवार ढंगले कार्यरत रहेको बताए। 

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ स्थायी घर भएकी ईनिशा विरेन्द्रनगर-१ मा बसोबास गर्दै थिइन्। कक्षा ११ मा अध्ययनरत १६ वर्षीया उनी गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न घरबाट निस्किएकी थिइन्। 

राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा उनलाई विरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो। घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रूरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

प्रकाशित: १ चैत्र २०८२ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App