१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न कार्की सरकारलाई दबाब

जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।

प्रतिवेदन गुपचुप राखिएको भन्दै मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला अभियन्ताहरूले सडकबाटै सुशीला कार्की नेतृत्वको सरकारलाई दबाब दिएका हुन्।

प्रदर्शनका क्रममा जेन-जी अभियन्ता रक्षा बसले नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने माग गरिन्।

हालको अन्तरिम सरकार आन्दोलनकै म्यान्डेट बोकेर गठन भएको औंल्याउँदै उनले यो जिम्मेवारीबाट पन्छिन नमिल्ने दाबी गरिन्।

‘यो अन्तरिम सरकारबाटै प्रतिवेदन सार्वजनिक होस् र कार्यान्वयनमा जाओस् भन्ने हाम्रो माग हो,’ उनले भनिन्, ‘प्रतिवेदन जति कार्यान्वयन गर्न आवश्यक छ, त्यति नै सार्वजनिक हुन पनि जरुरी छ। पारदर्शिता हाम्रो मूल मुद्दा हो।’

आम नेपाली नागरिकले उक्त प्रतिवेदन पढ्न र बुझ्न पाउनुपर्ने उनको भनाइ छ।

कार्की सरकारप्रति आफूहरूको कुनै पूर्वाग्रह नरहेको पनि उनले प्रस्ट पारिन्। सरकारलाई शान्तिपूर्ण रूपमा खबरदारी गर्न मात्र सडकमा आएको उनले बताइन्।

मन्त्रिपरिषद् बैठकबाटै आज प्रतिवेदन सार्वजनिक हुने अपेक्षा रहेको सुनाउँदै उनले त्यसो नभए थप आन्दोलन गर्ने चेतावनी दिइन्। गृहमन्त्रीबाट समेत प्रतिवेदन सार्वजनिक हुने आश्वासन पाएको उनले जानकारी दिइन्।

हाल प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।

प्रकाशित: १ चैत्र २०८२ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App