१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले समानुपातिकतर्फ २० सांसद छान्यो, पन्ध्र जना महिला

नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन हुने २० जना सांसदको नाम टुंगो लगाएको छ। आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।  

पार्टीका अनुसार समानुपातिकबाट प्राप्त २० सिटमध्ये संविधानअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ जना महिलालाई समावेश गरिएको छ। संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता कायम गर्नुपर्ने व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार समानुपातिक सूची तयार गर्दा विभिन्न समावेशी समूह र क्लस्टरलाई ध्यानमा राखिएको छ। आदिवासी जनजाति र खसआर्य समूहबाट समान रूपमा प्रतिनिधित्व गराइएको छ भने थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रलाई समेत समेटेर बाँकी प्रतिनिधि चयन गरिएको बताइएको छ।

कांग्रेसले तय गरेको बन्दसूची आइतबार नै निर्वाचन आयोगमा बुझाइने तयारी गरिएको छ। आयोगले आवश्यक प्रक्रिया पूरा गरी सूची रुजु गरेपछि आधिकारिक रूपमा सार्वजनिक गर्नेछ।

प्रवक्ता चालिसेले आयोगमा पठाइसकेपछि केही प्राविधिक मिलान गर्न सकिने भए पनि यसअघि बुझाइएको समानुपातिक बन्दसूचीमा ठूलो फेरबदल गर्ने सम्भावना नरहेको बताए।

यसैबीच, पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी पनि गरेको जनाएको छ।

प्रकाशित: १ चैत्र २०८२ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App