राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै आनाकानी नभएको बताएका छन्।
आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा पार्टीभित्रै आनाकानी भइरहेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेतृत्वको विषयमा पूर्वसहमति भइसकेको बताउँदै सोहीअनुसार पार्टी अगाडि बढिरहेको सुनाए।
‘कुनै आनाकानी छैन, हामी त्यसको प्रक्रियामा काम गरिरहेका छौं,’ उनले भने, ‘जुन सहमति भएको छ, त्यही सहमतिअनुसार थप मजबुत छलफल गरेर अगाडि बढ्छौं।’
यस्तै, शाहलाई प्रधानमन्त्री बनाउन पार्टीको विधान नै संशोधन गर्नुपर्ने अवस्था हो कि होइन भन्ने जिज्ञासामा पनि सांसद बुर्लाकोटीले राजनीतिक सहमतिकै आधारमा कदम चालिने प्रस्ट पारे।
विधान संशोधनको प्रक्रियाबारे सोधिएको प्रश्नमा उनले थपे, ‘राजनीतिक सहमति भइसकेपछि त्यही सहमतिमा टेकेर हामी अगाडि बढ्छौं।’
प्रकाशित: १ चैत्र २०८२ १६:२७ आइतबार





