१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

'जेन-जी आन्दोलनको मुख्य कारण आर्थिक, सामाजिक र राजनीतिक असन्तुष्टि'

अर्थ मन्त्रालयले नेपालमा युवाले नेतृत्व गरेको आन्दोलनका पछाडि आर्थिक, सामाजिक र राजनीतिक असन्तुष्टि प्रमुख रहेको निष्कर्ष निकालेको छ। “जेन–जी आन्दोलनका मूल कारण बुझ्ने” विषयक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयले बेरोजगार प्रमुख कारण रहेको औंल्याएको हो।  

प्रतिवेदनअनुसार युवामा बढ्दो बेरोजगारी, अवसरको अभाव र आर्थिक असमानताले ठूलो असन्तुष्टि पैदा गरेको छ। देशमा रोजगारीका पर्याप्त अवसर नहुँदा धेरै युवा विदेश जान बाध्य हुने अवस्था सिर्जना भएको र यही कारणले युवाहरूमा निराशा बढ्दै गएको उल्लेख गरिएको छ।

अर्को मुख्य कारणका रूपमा राजनीतिक नेतृत्वप्रति युवाको विश्वास घट्दै गएको देखिएको प्रतिवेदनमा उल्लेख छ। लामो समयदेखि उही राजनीतिक नेतृत्व दोहोरिरहनु, भ्रष्टाचारका आरोप र शक्तिशाली समूहको प्रभावले युवामा व्यवस्था परिवर्तनको माग बलियो बनेको बताइएको छ।

प्रतिवेदनले सामाजिक सञ्जालको भूमिका पनि महत्वपूर्ण रहेको जनाएको छ। नेपालमा ठूलो संख्यामा युवा सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले डिजिटल माध्यमबाट असन्तुष्टि छिटो फैलिएको र आन्दोलनको स्वरूप व्यापक बनेको उल्लेख गरिएको छ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध पनि आन्दोलनको तत्कालीन ट्रिगर बनेको प्रतिवेदनमा उल्लेख छ। डिजिटल माध्यममा निर्भर युवाले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको र त्यसले विरोधलाई थप तीव्र बनाएको विश्लेषण गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार जेन–जि आन्दोलन कुनै एक विषयको मात्र परिणाम नभई बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव, सामाजिक असमानता र शासनप्रतिको अविश्वास जस्ता दीर्घकालीन समस्याहरूको संयुक्त परिणाम हो।

प्रतिवेदनले भविष्यमा यस्ता आन्दोलन दोहोरिन नदिन युवामैत्री नीति, रोजगारी सिर्जना, पारदर्शी शासन र समावेशी विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।

प्रकाशित: १ चैत्र २०८२ १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App