प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची बुझाउने अन्तिम कसरतमा जुटेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनअनुसार आयोगले समानुपातिकतर्फबाट सदस्य पाउने राजनीतिक दलहरूलाई अन्तिम नामावली बुझाउन दिएको समयसीमा भेट्टाउन उनीहरूले सक्रियता बढाएका हुन्। आयोगले तोकेको समयसीमाअनुसार दलहरूले आइतबारसम्म नामावली बुझाउनुपर्छ।
नेकपा एमालेले शनिबार नै समानुपातिकतर्फको नाम टुंगो लगाएको छ । प्रतिनिधिसभामा बहुमतसहितको पहिलो ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि पार्टीको बैठक बोलाएको छ। त्यस्तै नेपाली कांग्रेसले पनि आइतबारका लागि नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ४५ सिटसहित प्रतिनिधिसभामा दोस्रो ठुलो दल बनेको एमाले यस पटक नराम्रोसँग पछारिन पुगेको छ। प्रत्यक्षतर्फ नौ क्षेत्रको मात्र परिणाम आफ्नो पक्षमा पारेको उसले समानुपातिकतर्फ १३.४६ प्रतिशत मात्र मत पाएको छ। सोहीअनुसार पाउने १६ सदस्यको नाम उसले टुंगो लगाएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएका १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। एमालेले जनजाति महिला र पुरुषबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य, खस आर्य महिला र पुरुषमा पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल, पिछडिएको क्षेत्रबाट एशुदाकुमारी बराल, थारूबाट कृपाराम राना (पुरुष), दलित महिलाबाट विष्णुमाया बिके र नीता घटानीको नाम सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै मधेसी महिला र पुरुषबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रश्वर मण्डल र मुस्लिम महिला साजिदा सिद्दिकी छन्।
त्यस्तै २०७९ को निर्वाचनअघि मात्र उदाएको रास्वपा चार वर्ष बित्दानबित्दै प्रतिनिधिसभामा झन्डै दुई तिहाइसहित पहिलो दल बन्न पुगेको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रको परिणाम उसले आफ्नो पक्षमा पारेको छ। समानुपातिकतर्फ ४७.८० प्रतिशत मतसहित उसले ५७ सिट पाएको छ। रास्वपाले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ १३ सिट पाएको थियो। यसपटक पाएको सिटमा कसकसलाई पठाउने भन्ने टुंगो लगाउनले उसले आइतबार बिहान सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार नै बस्ने भनिए पनि आइतबार बिहान १० बजेका लागि सारिएको प्रवक्ता मनीष झाद्वारा जारी सूचनामा उल्लेख छ।
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले विधानसहितका अन्य प्राविधिक विषयसमेत टुंगो लगाउने गरी बैठक आइतबारलाई सारिएको रास्वपा निकट स्रोतको दाबी छ। आयोगले चैत ५ गते समानुपातिकतर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सोही दिन राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
कांग्रेसले पनि समानुपातिकतर्फ नाम टुंगो लगाउन आइतबार दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ। २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनमा प्रत्यक्षतर्फ ५७ क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्दै कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेको थियो। पहिलाको तुलनामा अहिले समानुपातिकमा १० लाख मत गुमाएको कांग्रेस प्रत्यक्षतर्फ १८ क्षेत्रमा समेटिन पुगेको छ। १६.२७ प्रतिशत मत पाएको कांग्रेसले समानुपातिकतर्फबाट २० सिट पाएको छ । त्यसको टुंगो लगाउन उसले बैठक बोलाएको हो। कांग्रेसले अघिल्लो पटक समानुपातिकतर्फ ३४ सिट पाएको थियो।
त्यस्तै एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीसहितका अन्य कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गरेर निर्वाचनमा होमिएका पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि समानुपातिकतर्फको नाम टुंगो लगाउने चरणमा छ। प्रत्यक्षतर्फ आठ (धनुषा–१ को विवाद अदालतमा विचाराधीन) सिट आफ्नो पक्षमा पारेको उसले समानुपातिकतर्फ ७.५० प्रतिशत मतसहित नौ सिट पाएको छ।
अघिल्लो निर्वाचनमा दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ ३२ सिटसहित सदनमा तेस्रो ठुलो दल थियो। पहिले प्रत्यक्षतर्फ १० क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ सिट पाएको थिएन।
त्यस्तै समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाएको श्रम संस्कृति पार्टीले चार सिट पाएको छ। यो नयाँ दल हो। प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ (३.५७ प्रतिशत) मतसहित चार सिट पाएको छ। सोही आधारमा उसले चार जनाको नाम छनोट गरेको छ।
केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका संग्राैला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्वगोर्खा सैनिक पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय भएको छ। पार्टीले प्रत्यक्षतर्फ खोटाङ, भोजपुर र सुनसरी–१ मा जित निकालेको छ।
समानुपातिक सांसद छनोटलाई लिएर पार्टीभित्र केही समयदेखि विवाद चुलिएको थियो। खस आर्य कोटामा पहिलो नम्बरमा रहेका जीवन विष्टले आन्तरिक मतभेदबिच समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत पदका लागि झगडा गर्ने समय नभएको भन्दै पार्टी र मतदाताको सम्मानका खातिर आफूले नाम फिर्ता लिएको बताएका थिए।
यसअघि समानुपातिक सूचीको विषयमा पार्टीभित्र विवाद बढेपछि अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले समानुपातिक विषयमा अनावश्यक विवाद गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्म चेतावनी दिएका थिए।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि समानुपातिकतर्फ नाम टुंगो लगाउने तयारीमा छ। प्रत्यक्षतर्फ एक क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको राप्रपाले समानुपातिकतर्फ ३.०६ प्रतिशत मतसहित चार सिट पाएको छ। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सात सिट जितेको राप्रपाले समानुपातिकतर्फ पनि त्यति नै सिट पाएको थियो।
२०७९ सालको निर्वाचनमा उदाएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेनन्। नाउपा निर्वाचनको मुखमा नेकपामा विलय भएको थियो। नाउपामा विभाजन आएपछि रेशम चौधरी नाउपा नेपाल गठन गरी निर्वाचनमा होमिएका थिए।
नाउपा नेपाल र जनमत पाटीले प्रत्यक्ष र समानुपातिकतर्फ एक सिट पनि पाएनन्। जनमत र नाउपा विघटित प्रतिनिधिसभामा राष्ट्रिय दलको हैसियतमा थिए।
त्यस्तै अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ आठ क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैबाट आफ्नो स्थान सुरक्षित गर्न असफल भएको छ। २०६४ सालको मधेस आन्दोलन हुँदै तत्कालीन मधेसी जनअधिकार फोरम हुँदै यादव र उनको नेतृत्वमा क्षेत्रीय दलका रूपमा मधेसवादी दल उदाएका थिए। निर्वाचनको संघारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबिच एकता भए पनि जनमत उनीहरूको पक्षमा आएन । लोसपाले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ चार क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको थियो।
त्यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहितका दलहरू पनि नयाँ प्रतिनिधिसभामा हुनेछैनन्। उनीहरूको अघिल्लो संसद्मा उपस्थिति थियो। अघिल्लो निर्वाचनमा पाँच स्वतन्त्र उम्मेदवारले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका थिए तर यसपटक महावीर पुन मात्र स्वतन्त्रबाट जित्न सफल भएका छन्।
प्रकाशित: १ चैत्र २०८२ ०७:१७ आइतबार





