१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

बरोडा १२९ रनमा अलआउट, नेपाल २७ रनले विजयी

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ रोज्या। नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो।

एक सय ५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतको बरोडाले सबै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो।

बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए। उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए।

बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक विकेट लिए।

यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए।

बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ। 

प्रकाशित: २० चैत्र २०८० १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App