१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आर्मीको सुखद सुरुआत

गण्डकीविरुद्ध स्पाइक गर्दै आर्मीका दुर्गाबहादुर। तस्बिर सौजन्य: विशाल पन्थी

गण्डकी प्रदेशको चुनौती समाप्त गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा आर्मीले पुरुषतर्फ गण्डकी प्रदेशको चुनौती ३–० को सोझो सेटमा नै समाप्त पारेको हो। समूह ‘डी’ को खेलमा गण्डकीले पहिलो सेटमा चुनौती दियो। तर, सो लय जारी राख्न नसक्दा आर्मीले सहजै खेल आफ्नो पक्षमा पर्‍यो। गण्डकीले पहिलो‌ सेटमा विभागीय प्रतिद्वन्द्वीलाई चुनौती दियो। यद्यपि, यो सेट आर्मीले २९–२७ ले संघर्षपूर्ण रूपमा आफ्नो पक्षमा पार्न सफल भयो। त्यसपछि भने आर्मी हाबी भयो र क्रमशः दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१७ ले आफ्नो बनाउँदैे सुखद नतिजा निकाल्यो।

पुरुषतर्फ १३ टोलीले प्रतिस्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘डी’ मा आर्मी र गण्डकीसहित मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन्।

समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोसी प्रदेश र ढोरपाटन भलिबल क्लब तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानीलकण्ठ भलिबल क्लबले चुनौती प्रस्तुत गर्दै छन्। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन्।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। समूह ‘सी’ को खेलमा पुलिसले कर्णाली प्रदेशलाई‌ ३–० को‌ सोझो सेटमा हरायो। पुलिसले खेल २५–९, २५–१३, २५–१३ ले आफ्नो पक्षमा पारेको हो। पुरुषमा नै कोसी प्रदेशले ढोरपाटन भलिबल क्लबलाई ३–१ सेटमा हरायो।

यस क्रममा कोसीले उत्कृष्ट पुनरागमन गर्‍यो। पहिलो सेट कोसीले २५–२३ ले गुमाएको थियो। त्यसपछि भने कोसीले क्रमशः २५–२०, २५–१८, २५–१९ ले खेल आफ्नो पक्षमा पार्दै सुखद सुरुआत गर्‍यो।

महिलातर्फ भने एभरेस्ट भलिबल क्लबले विजयी सुरुआत गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र भारतीय खेलाडीको साथमा एभरेस्ट क्लबले जारी च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरेको छ।

समूह ‘ए’ मा रहेको एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को‌ सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो। अनुभवी अरूणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेस्टले कर्णालीलाई २५–१२, २५–७ र २५–११ ले सहजै हरायो। महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन्।

समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब छन्। अर्को समूहमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड स्पोटर्स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन्।

नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रूपैयाँ पाउनेछन्। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन्।

च्याम्पियनसिपको उद्घाटन अवसरमा शनिबार मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने बताएका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिनाअगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्पmत प्रस्ताव ल्याएका थिए।

सोही प्रस्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। साथै उनले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरेका छन्। यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्ने बारे भने खुलाएका छैनन्। 

प्रकाशित: ४ चैत्र २०८० ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App