यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन्। नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल आर्मी क्लब र पर्सा-११ बीच अर्को प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा-११ दोस्रो स्थानमा छ।
अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन्। भारतको युपी-११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन्।
नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्।
प्रतियोगितामा पर्सा-११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी-११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले बताए। प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ८ पुस २०८० ०६:४८ आइतबार