२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कञ्चनपुर अर्थात् ‘क्रिकेटपुर’

राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रिय स्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ। कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तर्राष्ट्रिय रूपमै परिचित खेलाडीका कारण कञ्चनपुर  थप चर्चित बनेको छ।

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा टी–२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मङ्गोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाएका थिए। ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत रहेका छन् गत भदौमा नेपालका तर्फबाट एसियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहौलले बजार पाएको बुझाइ छ।

कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए। गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढवा पाएको उनको भनाइ छ।

यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ।

सुदूरपश्चिमको नौ  जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रूपमा परिचित पनि छ। हाल महेन्द्रनगरमा क्रिकेट सङ्घको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा खेलाडी उत्पादन गरिरहेका छन्। सङ्घका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता सङ्घसित समन्वयमा भइरहेको जानकारी दिए।

'क्रिकेटको चर्चापछि पनि यहाँ खेलप्रतिको आकर्षण बढ्नुका साथै सबैतिर पालिकाको समन्वयमा गतिविधि बढेको छ', अध्यक्ष चन्दले  भने, 'नौवटै पालिकामा स्थानीय तहसँगको समन्वयमा क्रिकेट प्रशिक्षणलाई अगाडि बढाउने गरीसमेत योजना बनाएका छौँ।'

जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन।  

सङ्घका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो  गरे। राज्यले कञ्चनपुरलाई बेवास्ता गरेको चन्दको बुझाई छ। 'नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आएको छ', अध्यक्ष चन्दले भने, ' खेलाडीको उर्वर भूमि भए पनि मलजल राज्यबाट भएन।'

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताए। “राष्ट्रिय खेलकुद परिषद्बाट हामीले अहिलेसम्म क्रिकेट प्रशिक्षक देख्न पाएनौ,’ उनले भने, ‘ तर राज्यका लागि प्रतिभावान् खेलाडी दिइरह्यौँ’। रासस

प्रकाशित: १३ मंसिर २०८० ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App