२७ पुस २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

कठै कांग्रेस!

मुलुककै लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सर्वाधिक कठिन मोडमा छ। पार्टी सभापति शेरबहादुर देउवाका कारण यो दल रसातलमै पुग्न लागेको छ। यसको प्रमुख कारण उनी नै हुन्। गत भदौको जेनजी आन्दोलनपछि प्रमुख दल र यसका नेतामाथि भएको आक्रमणपछि उनले जिम्मेवारीबाट बिदा लिँदै कार्यवाहक अध्यक्षमा पूर्णबहादुर खड्कालाई तोकेका थिए। देउवाले जिम्मेवारीबाट हटेर नयाँ नेतृत्व निर्माणमा मार्गप्रशस्त गर्दा प्रशंसा भएको पनि हो। तेस्रोपटक पार्टी सभापति हुन नमिल्ने दलीय कानुनको प्रावधानअनुसार उनले आफूलाई नेतृत्वबाट अलग्याएको ठाने पनि उनीमा अझै सत्तालिप्सा र शक्तिप्राप्तिको भोक देखिँदै छ।

जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ मा देउवा निवासमा आक्रमण भयो। देउवा दम्पत्तिमाथि भिडले भौतिक आक्रमण पनि गरेको हो। त्यो आक्रमणपछि उनीहरू उपचारमा गए। विदेशमा समेत उपचार गर्न भनेर उनीहरू गएर फर्र्किए तर स्वदेश फर्किएपछि स्वाभाविक रूपमा दलको नेतृत्व हस्तान्तरणका निम्ति युवाहरूले राखेको मागप्रति उनले बेवास्ता गरिरहेका छन्। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग भयो तर  त्यो महाधिवेशन हुन नदिन देउवा र उनी निकट नेताहरूले षड्यन्त्र र ढिलासुस्ती गरेका छन्। त्यसका कारण अहिले यो दल अत्यधिक समस्यामा परिरहेको छ। देउवा पक्षले विशेष महाधिवेशन हुन नदिन र महामन्त्रीद्वयको तर्फबाट पहल गरिएको विशेष महाधिवेशनको मागलाई टार्न गरेका प्रयासबाट स्थिति सहजै बुझ्न सकिन्छ।

देउवाले फेरि पनि यो दलको नेता हुने अवसर गुमाएका छन्। उनलाई अझै कुनै न कुनै रूपमा प्रधानमन्त्री बन्ने रहर मरिसकेको छैन। आफू प्रधानमन्त्री बन्ने र पत्नी आरजु देउवा राणालाई दलको उपल्लो पदमा पुर्‍याएर व्यवस्थापन गर्ने चाहनाले कांग्रेसलाई थप धुलोपिठो बनाउने देखिएको छ। कांग्रेस भन्ने दल देउवाको मात्र होइन। बरु मुलुकमा उदार लोकतान्त्रिक चरित्र बोकेको दलको अभावमा कांग्रेसलाई नै आशाको केन्द्र मानेर प्रतीक्षा गर्ने ठुलो समुदाय रहेको छ। यस्ता नागरिकले आशा गर्ने दललाई समेत समाप्त पार्ने काम देउवाबाट भइरहेको छ। निर्वाचनका लागि अहिले आफैंले उम्मेदवारीका निम्ति टिकट व्यवस्थापन गर्ने र निर्वाचनपछि वा निर्वाचनअघि नै भवितव्य परेर प्रधानमन्त्री पाइने मौका आयो भने त्यसलाई पनि नछाड्ने उनको उद्देश्य देखिन थालेको छ।

वास्तवमा यो मुलुकमा लोकतन्त्रप्रति नकारात्मक वातावरण बनाउनुमा देउवाको भूमिका ठुलो रहेको छ। मुलुकमा भर्खरै लोकतन्त्र आएका बेला २०५१ सालको प्रतिनिधिसभा निर्वाचनपछि देउवाले मुलुकको राजनीतिमा ‘पजेरो पोलिटिक्स’ भित्र्याएका हुन्। सरकार जोगाउन सांसद किनबेच गर्ने राजनीतिक विकृतिका उनी सूत्रधार हुन्। राजाले लोकतन्त्रविरुद्ध भूमिका खेल्नुमा पनि देउवाको अकर्मण्य कारकका रूपमा रहेको छ।    पछि ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै सत्ताका निम्ति दौडिने उनको भूमिका पनि देखिएको हो। जेनजी आन्दोलनपछि देउवा सच्चिए भन्ने धेरैलाई परेको हो तर उनले पाएको प्रशंसालाई लामो समय टिकाउन सकेनन्। बरु उनी फेरि राजनीतिलाई विकृत तुल्याउने र लोकतन्त्रलाई घाटमै पु¥याउने खेलमा सक्रिय भएका छन्।

जेनजी आन्दोलनपछि मुलुकमा आमनागरिकले परिवर्तन अपेक्षा गरेका हुन्। कांग्रेसको अहिलेकै विकृत अनुहारले नागरिकको विश्वास जित्न सकिँदैन भनेपछि यसका युवा नेताले विशेष महाधिवेशन माग गरेका हुन् तर त्यसलाई कमजोर तुल्याएर कांग्रेसले आगामी निर्वाचनमा कसरी आम नागरिकको विश्वास जित्ने हो? गम्भीर अवस्था छ। यसैलाई आत्मसात गरेर आगामी दिनको तयारीका लागि विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीद्वयले भूमिका खेलेका हुन्। महामन्त्रीहरूलाई कमजोर बनाउने उद्देश्यले जुन काम सभापति देउवाबाट भइरहेको छ, त्यसले अन्ततः दललाई नै धराशायी बनाउने निश्चित छ।

वास्तवमा मुलुकको लोकतान्त्रिक प्रक्रिया कमजोर हुनुमा दलहरूले आफ्नै विधान व्यवस्थालाई कुल्चनु प्रमुख कारण हो। कांग्रेसका ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन नहुनुपर्ने कारण थिएन। पहिले नियमित महाधिवेशन नै गर्ने भन्दै विशेष महाधिवेशन टार्न खोजियो। फेरि नियमित महाधिवेशन निर्वाचनपछि गर्ने भनेर झुक्याउने काम भएको छ। यस्तो परिस्थिति आउन नदिन देउवाले भूमिका खेल्नुपर्ने हो। यसै पनि दलबाट बाहिरिने उद्देश्य राखेर कार्यवाहक सभापतिसमेत तोकिसकेका नेताले पछिल्ला दिनमा खेलेका भूमिकाबाट दलभित्र मात्र होइन, बाहिर पनि नकारात्मक सन्देश प्रवाह गरेको छ। यसले कांग्रेसको वर्चस्व र भूमिकामाथि नै तुषारापात गर्ने गम्भीर अवस्था सिर्जना गरेको छ। कम्तीमा कांग्रेसले आफ्नो भूमिकालाई मात्र स्पष्ट पार्ने हो भने पनि परिस्थिति बदलिन सक्छ। लोकतन्त्रमाथि आज देखिएका काला बादल फाट्नेछन्। 

प्रकाशित: २५ पुस २०८२ ०५:५९ शुक्रबार

Download Nagarik App
Download Nagarik App