coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: उद्घाटन खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी

इटहरीमा शनिबारदेखि सुरु भएको १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङ विजयी भएका छन्।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा यस वर्षको बुढासुब्बा गोल्डकप विजेता एभिनियर फुटबल क्लब क्यामरुनलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। पेनाल्टीमा सगरमाथाका राजीब लोप्चा, मेसुके, अभिषेक राई, अभिषेक लिम्बुले गोल गरे। एभिनियरका साबा अलीको प्रहार क्रस बारमा लागेर बाहिरियो। जोय अल्डोको प्रहार सगरमाथाका गोलकिपर च्याङ्ग थेबेले रोकेका थिए। यानिक ओवना जीओन गीनी र सांघुको प्रहार गोलमा परिणत भयो।

खेलको म्यान अफ दि म्याच सगरमाथाका मुस्के घोषित हुँदै नगद दस हजारसहित मेडल प्राप्त गरे। 

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी प्रदान गरिनेछ। 

यस्तै, हरेक दिनको म्यान अफ दि म्याचले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र सहभागी प्रत्येक टिमलाई प्रति म्याच २० हजार तयारी खर्चसमेत उपलब्ध गराइनेछ। प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ।

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाईज, मच्छिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, सगरमाथा फुटबल क्लब मोरङ, कञ्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहनेछ।

आयोजक लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले ११ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रतियोगिताको लागि खेलकुद विकास बोर्ड कोशी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन्। प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले प्रायोजन गरेको छ।

प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरे। सो क्रममा उनले खेलकुदले मात्र जनताको भावनालाई एक सूत्रमा जोडन सक्ने बताए। प्रतियोगिता अन्तर्गत आइतबार आयोजक राष्ट्रिय जागृती क्लब र चर्च ब्वाईज क्लब काठमाडौँबिच खेल हुनेछ।

प्रकाशित: ४ चैत्र २०७९ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App