२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

स्वर्णिमलाई रविले भने- डाक्टर साब, अर्को वर्षको बजेट लेख्न थाल्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न निर्देशन दिएका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश तथा विदेशमा रहेका नेपालीहरूमा देखिएको उत्साह र पार्टी प्रवेशको लहरले रास्वपालाई मुलुकको नेतृत्वमा पुर्‍याउने दाबी गरे।

सभालाई सम्बोधनका क्रममा मञ्चमै रहेका डा. वाग्लेतर्फ इंकित गर्दै लामिछानेले भने, ‘डाक्टर साब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुस्। नेताका रूपमा, पार्टीका रूपमा हामीले के गर्नुपर्छ हामी गर्छौँ। आफ्नो स्वार्थलाई होइन देशको स्वार्थलाई अगाडि राखेर हामी काम गर्छौँ।’

सभापति लामिछानेले पुराना राजनीतिक दलहरूप्रति आक्रामक अभिव्यक्ति दिए। उनले पुराना दलहरूले देश र जनताका लागि खनेको खाल्डोमा उनीहरू आफैं जाकिएको टिप्पणी गरे।

‘राज्यसत्ताको चरम दुरुपयोग गरेर तिमीहरूले खाल्डो खन्यौ। मैले भनेको थिएँ, मलाई पुर्न ६ फिट वा साढे ६ फिटको खाल्डो खनेको भए फरक पर्दैन थियो। तर, तिमीहरूले यति ठूलो खाल्डो खन्यौ कि अब तिमीहरू सबै नपुरीकन त्यो खाल्डो सुख्खा छैन,’ लामिछानेले भने, ‘त्यो खाल्डो हामीले पुर्ने होइन, तिमीहरू आफैं फसेका हौ।’

आफ्नो हिरासत बसाइँ र मुद्दा मामिलाको प्रसङ्ग कोट्याउँदै लामिछानेले आफूमाथि जतिसुकै घेराबन्दी भए पनि भ्रष्टाचारीको सातो खाने क्षमतामा कमी नआएको जिकिर गरे।

लामिछानेले पुराना दलहरूले चुनाव टार्न वा संसद् ब्युँताएर सत्ताको खेल खेल्न सक्ने भन्दै सचेत गराए। उनले अब ‘फ्रेस म्यान्डेट’ लिएर मात्र संसद् आउनुपर्ने बताए।

‘सांसदबाट बाहिर निकालेर फेरि त्यही संसद् ब्युँताउने सपना नदेख्नुस्,’ उनले चेतावनी दिँदै भने, ‘संसद् त आउँछ तर फ्रेस म्यान्डेट लिएर आउँछ। नयाँ साथीहरू लिएर आउँछ।’

उनले रास्वपा अब कसैसँग गठबन्धन नगरी एक झण्डा, एक चुनाव चिह्न र एक उम्मेदवारको नीतिमा अघि बढ्ने स्पष्ट पारे।

प्रकाशित: २१ पुस २०८२ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App