२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गतको भलिबलको उपाधि समिटलाई

आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ । सोमबार भएको उपाधि भिडन्तमा गलकोट नगरपालिकालाई निरास बनाउँदै होटल समिट धौलागिरी बागलुङले उपाधि चुमेको हो ।  

बाङ्गेचौर खेलमैदान भएको फाइनल खेलमा गलकोट नगरपालिकालाई ३-१ सेटको अन्तरले पराजित गर्दै होटल समिटले उपाधि जित्दै आठौं बागलुङ महोत्सव गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।  

लगातार दुई सेट आफ्नो पक्षमा पारेको होटल समिटले तेस्रो सेट गुमाउन पुग्यो । चौथो सेटमा पुनरागमन जित निकाल्दै उपाधि पनि जित्यो । पहिलो होटल समिटले २५-२० दोस्रो सेट २५-११ आफ्नो पक्षमा पार्‍यो ।  

तेस्रो १७-२५ ले गलकोटलाई सुम्पिएको समिट होटल चौथो सेटमा २५-१८ ले जित हात पार्दै सेटसँगै उपाधिको समेत विजेता बन्न सफल भयो । होटल समिटलाई उपाधि दिलाउन पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल टिमका कप्तान समेत रहेका सन्जु विक्रम शाहको प्रदर्शन उत्कृष्ट रह्यो ।  

शाहले भित्र बाहिर दुबैतिरबाट गरेका प्रहारले अंक जोड्दा होटल समिट उपाधि विजेता बन्न सफल भएको हो ।  च्याम्पियन बनेको होटल समिटले उपाधिसंगै नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ । सोमबार नै भएको तेस्रो स्थानको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–२७ ले गुमाएको मेरो डेण्टल होमले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो । मेरो डेण्टल होमले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१७ ले जित्यो । तेस्रो स्थान प्राप्त गरेको मेरो डेण्टल होमले ट्रफी सहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफी सहित २२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । बागलुङ महोत्सव २०८२ को मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगिताका १४ समुहले भाग लिएका थिए । अन्तिम समयमा जैमिनी नगरपालिका र मालिका युवा क्लब खेलमा सहभागी नभएपछि १२ समुहबीच प्रतिस्पर्धा भएको थियो ।

गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्ला बाहिर गण्डकी प्रदेशका २ जना खेलाडी टिममा समावेश गर्न पाईने नियम राखिएको थियो । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुई जना मात्रै सम्बन्धित पालिका रहेको भन्दा बाहिरी जिल्ला गण्डकी प्रदेश भित्रको हुनुपर्ने आयोजकले जनाएको थियो । प्रतियोगितमा होटल समिटले गलकोट नगरपालिकाका खेलाडीका साथै गण्डकी प्रदेशका कप्तान तथा पूर्वराष्ट्रिय खेलाडी सन्जुविक्रम शाह र गण्डकी प्रदेशका सेटर विवस आले मगरलाई समावेश गरेको थियो ।

गलकोट नगरपालिकाको गण्डकी प्रदेशका खेलाडी विश्वास अधिकारी र नेपाल पुलिस क्लबका बलराम गुरुङलाई समावेश गरेको थियो । राष्ट्रियस्तरका खेलहरुमा सहभागी खेलाडीको उपस्थीतिले भलिबल हेर्ने दर्शक ह्वात्तै बढेका थिए । उक्त प्रतियोगितमा होटल समिट धौलागिरी बागलुङका आउटसाइट हिटर सञ्जु विक्रम शाह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भए । सर्वोत्कृष्ट घोषित शाहले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।  

उपाधि विजेता होटल समिटका खेलाडीले विधागतमा पनि वर्चस्व जमाए । होटल समिटका विवश आले उत्कृष्ट सेटर, लव्सन सिन्जाली उकृष्ट ब्लकर, राजन परियार उत्कृष्ट स्पाइकर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । मेरो डेन्टल होमका कुन्जन शाही उत्कृष्ट लिबेरो, गलकोट नगरपालिकाका सुर्य विक उत्कृष्ट सर्भर र विप्सन शाही उदयमान खेलाडी घोषित भएका छन् । उत्कृष्ट घोषित सबै खेलाडीले ट्रफीसहित समान २ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरियो ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती आयोजना गरिएको छ । महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने भनिए पनि आयोजकले मंगलबार २२ गते एक दिनका लागि थप गरेको छ । 

प्रकाशित: २१ पुस २०८२ २०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App