भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी-२० विश्वकप जितेको भारतीय टोलीलाई एक अर्ब ३१ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। यो रकम सन् २०२४ को एक अर्ब २५ करोडभन्दा ६ करोड बढी हो।
भारतले गत आइतबार गुजरात, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि जितेको थियो। भारतले २५५/५ को विशाल योगफल बनाएको थियो भने न्यूजिल्यान्ड १५९ रनमै अलआउट भयो। यो जितसँगै भारत टी-२० विश्वकपमा सर्वाधिक तीन पटक विजेता बनेको छ। भारत त्यो देश हो जो पहिलो पटक घरेलु मैदानमा उपाधि जित्न सफल भएको छ। साथै यो उसको लगातार दोस्रो उपाधि पनि हो।
बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डले खेलाडीहरू, सहयोगी कर्मचारीहरू र छनोटकर्ताहरूलाई यो ऐतिहासिक उपलब्धिमा फेरि एक पटक बधाई दिन्छ र भविष्यमा उनीहरूको निरन्तर सफलताको कामना गर्दछ।’
यो पुरस्कार रकम खेलाडी, प्रशिक्षक, सहयोगी टोली र छनोटकर्तालाई वितरण गरिनेछ। यसअघि आईसीसीले विजेतालाई करिब २७। करोड ३० लाख रुपैयाँ दिएको थियो। एजेन्सी
प्रकाशित: २६ फाल्गुन २०८२ १४:१८ मंगलबार





