३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

पोखरामा ग्यास अभावः ‘नाकाबन्दीको मार सम्झँदै पर्यटन क्षेत्र’

तत्काललाई काम चलेको छ, तर अभाव नजिक छौंः व्यावसायी

खपत घटाउने विकल्प प्रयोग गर्दै व्यावसायी

नाकाबन्दीका बेला इन्धन अभाव खेपेको पर्यटन क्षेत्र योपटक पनि त्रसित छ। पर्यटक भित्रिने सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्दै जाँदा इन्धन अभाव हुने त्रासमा व्यावसायी छन्। नाकाबन्दीका बेला ग्यास नपाएर भुसे चुलोमा पकाएर पाहुनालाई खाना पस्केका व्यावसायी अहिले त्यही अवस्था दोहोरिने चिन्तामा छन। तत्कालका लागि अभाव नभईसकेपनि वैकल्पिक व्यवस्था गर्न थालेको उनीहरुको भनाई छ।

नेपालको आन्तरिक भन्दा पनि बाह्य समस्याका कारण अहिले इन्धन अभाव हुन थालेको भन्दै व्यावसायीले अबका केहीदिनमा पर्यटन क्षेत्रमा पनि त्यसको असर पर्ने भन्दै चिन्ता जनाएका छन्। अझ सरकारले आधा ग्यास भरेर मात्र बजारमा सिलिन्डर पठाउने तयारी गरेपछि पर्यटन क्षेत्रका आधा सिलिन्डरको प्रयोग प्रभावकारी नहुने उनीहरुको भनाई छ। कतिपय व्यावसायीले अतिरिक्त सिलिन्डर थप गर्न थालेको पनि बताएका छन।  

चल्तीका होटल र रेस्टुरेन्टमा दिनमै ठूलो परिमाणमा ग्यास खपत हुने र बजारमा अभाव भएको अवस्थामा समस्या निम्तने उनीहरुको भनाई छ। ‘नाकाबन्दीमा भोगेको सकसलाई सम्झाएको छ। मैले त कर्मचारीका लागि खाना पकाउन भुसे चुलो प्रयोग गर्न भनिसकेको छ,’ पर्यटन व्यवासायी दोर्जे लामा भन्छन, ‘तत्कालका लागि अभाव भईसकेको त छैन। तर, यस्तै अवस्था हो भने केहीदिनमा पर्यटन क्षेत्रमा पनि मार पर्ने पक्का छ।’  

नाकाबन्दीका बेला लेकसाइडका अधिकांश होटल र रेस्टुरेन्टले दाउरा र भुसे चुलो प्रयोग गरेर खाना पकाएर पाहुनलाई खुवाएका थिए। धेरै रेस्टुरेन्टले त खानाको मेनु नै कटौती गरेका थिए। पकाउन बढी समय लाग्ने र धेरै ग्यास खपत गर्ने खालका खानेकुराको साटो कम समयमा पाक्ने खानालाई व्यासायीले बढी प्राथमिकता दिएका थिए।  

‘अहिले पर्यटनको सिजन चलिरहेको छ। यो बेला यसै पनि सोचेजस्तो आकारमा पाहुना भित्रिएका छैनन। त्यसैमाथि ग्यास अभाव छ। सर्वसाधारण उपभोक्ताले नपाएको अवस्थामा त्यो समस्या पर्यटन क्षेत्रमा पनि थपिनेछ,’ उनले भने, ‘मैले त ग्यास किफायती गर्न पनि कर्मचारीलाई लगाएको छु। विद्युतीय उपकरण प्रयोगमा पनि जोड दिन थालेका छौं। तर, सबै खाना विद्युतीय चुलोमा सम्भव छैन।’  

ग्यास अभावमा चाहेको खाना खान नपाए पाहुना आगमन प्रभावित हुन सक्ने चिन्ता उनले जनाए। ‘अहिले पाहुना आएनन भने त्यसको असर पर्यटन क्षेत्रले कम्तिमा पाँचमहिना नोक्सान खेप्नुपर्छ,’ उनले भने, ‘नेपालको आन्तरिक भन्दा पनि बाह्य समस्याले यो अप्ठेरो निम्तिएको हो। त, नेपालले पर्याप्त मौज्दात राख्न नसक्दा पनि समस्या भयो।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान)पोखराका पूर्व अध्यक्ष गोपि भट्टराई पनि ग्यास नपाउँदा नाकाबन्दीताका झेल्नुपरेको समस्या सम्झनुपर्ने अवस्था आएको बताउँछन। उनले अहिले रेस्टुरेन्टमा मौज्दात ग्यासबाट काम चलाएको भएपनि अभावको नजिक पुगेको बताए। ‘अहिलेसम्म खाना पकाउनै नपाएको त होइन। तर, सहज छैन। सर्वसाधारण उपभोक्ताले अभाव खेपिसकेका छन। अब पालो व्यावसायिक क्षेत्रमा पर्ने हो,’ उनले भने, ‘व्यावसायीले मौज्दात ग्यासबाट काम चलाएका छन। एकैपटक धेरै परिमाणमा ग्यास खपत हुने भएकोले पर्यटनलाई यो अभावले समस्या पार्ने देखिएको छ।’

उनका अनुसार व्यावसायीले तत्कालका लागि ग्यासको मौज्दात बढाउने तयारी पनि गरेका छन। केहीले मौज्दात बढाई पनि सकेका छन। ‘अभावको बेला ग्यास सिलिन्डरमा लगानी गरेर मात्र पनि हुँदैन। लगानी थप्नु नै समस्या समाधान होईन। कति समयका लागि यो अभाव हुने भन्ने निश्चित छैन,’ उनले भने, ‘आन्तरिक समस्या नभई बाह्य र त्यो पनि इन्धनको श्रोत मुलुकमा निम्तिएको अप्ठेरोको कारणले हामीले मार खेप्नुपर्ने अवस्था आएको छ।’  

मध्यपूर्वका मुलुकमा निम्तिएको द्वन्द्वको समस्या तत्काल समाधान नभए नेपालको पर्यटन क्षेत्रले पनि खेप्नुपर्ने पक्का भएको उनले बताए। ‘ठूला आकारमा रेस्टुरेन्टका लागि ग्यास नै पर्याप्त चाहिन्छ। विद्युतीय उपकरणप्रतिको निर्भरता पाँचप्रतिशत मात्र हो। बाँकी ९५ प्रतिशत काम ग्यासबाटै हुन्छ।’ 

ठुला रेस्टुरेन्टमा हाइप्रेसर चुलो चलाउनुपर्ने र त्यसका लागि ग्यासको विकल्प नभएको उनले बताए। ‘विजुलीबाट फास्टफुडलाई काम चल्छ। तर, अरु समस्या समाधान हुँदैन। सबै खाना विद्युतीय चुलोमा सम्भव हुँदैन। पाहुनालाई भोकै फर्काउनु त भएन,’ उनले भने।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि ग्यास अभाव नजिक रहेको बताउँछन्। ‘पर्यटन क्षेत्र नाकाबन्दीमा खेपेको इन्धन अभावको अप्ठेरोबारे जानकार छ। त्यो बेला पाहुनालाई खाना खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको थियो। अहिले पनि त्यही अवस्था दोहोरिने देखिएको छ,’ शर्माले भने, ‘अहिलेका लागि अभावै भएको छैन। तर, हामी संकट नजिक छौं। तत्काल आयात सहज नहुने हो भने पर्यटनले पक्का मार खेप्नेछ।’

सरकारले आधा ग्यास भरेर बजार पठाउने तयारीले पर्यटन क्षेत्रमा झनै समस्या थपिने शर्माले बताए। ‘होटल र रेस्टुरेन्टका ठुला भान्सामा हाईप्रेसर चुलो चलाउनुपर्ने हुन्छ। सिजनको बेला खपत पनि बढ्छ। तर, आधा भरिएको सिलिन्डरको प्रेसरले पर्यटन क्षेत्रको भान्साको चुलो चल्दैन,’ उनले भने, ‘सर्वसाधारणको घरको र होटलको चुलो फरक हुन। बरु सरकारले पर्यटन क्षेत्रका लागि भरि सिलिन्डर भरेर ग्यास पठाउन सक्छ। सर्वसाधारणले सानो चुलोमा खाना पकाए पुग्छ, तर, हामीलाई हाईप्रेसर चुलो नभई हुँदैन। घरायसी प्रयोजनका लागि आधा सिलिन्डरको उपयोग भएपनि ठुला भान्साका लागि काम लाग्दैन।’

फास्टफुड, चियाकफि लगायतका खानाका लागि विद्युतीय चुलो उपयोग भएपनि एकैपटक धेरैका लागि खाना तयार गर्नुपर्ने अवस्थामा ग्यास नभई नहुने उनले बताए। ‘पर्यटन क्षेत्रमा २/४ दिनका लागि अप्ठेरो नहोला, त्यसपछि भने समस्या हुनेछ। अहिले पाहुना आउने सिजन पनि हो। पाहुनाले खानै नपाउने अवस्थामा गलत सन्देश जानेछ,’ उनले भने, ‘नाकाबन्दीको मार खेपेका थियौं। अहिले मध्यपूर्वका मुलुकले खेपेको द्वन्द्वको मार नेपालको पर्यटनमा देखिने अवस्था छ।’ व्यावसायीको अनुमानमा लेकसाइडका होटल र रेस्टुरेन्टमा मात्र दिनमा ४ सय हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ।

यसैबीच कास्की प्रशासनमा शनिबार आपूर्ति व्यवस्थापन गर्नेबारेको बसेको बैठकले कास्कीका ग्यास उद्योग तथा विक्रेताले आफूलाई प्राप्त र वितरित परिमाण समेतको दैनिक अभिलेख कास्की प्रशासनमा बुझाउनुपर्ने निर्णय गरेको छ। ग्यासको अनावश्यक सञ्चितीकरण नगर्न पनि प्रशासनले निर्देशन दिएको छ। ग्यास बिक्रेताको प्रमाणपत्र लिएका व्यावसायीले मात्र बिक्री वितरणको कार्य गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ।  

त्यस्तै ७५ वर्ष उमेर भन्दा माथिका ज्येष्ठ नागरिक, पूर्णरुपले अशक्त र अपांगता भएका व्यक्ति एवम् भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा ग्यास वितरण गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ। उद्योगले वितरण गरेको ग्यास उचित रुपमा बिक्रेताबाट बिक्री वितरण भए नभएको तथा अनावश्यक मौज्दातबारे अनुगमन गर्ने पनि प्रशासनले निर्णय गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App