१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

चिलिमे हाइड्रोको सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा, त्रिशूली–३ बीमा बल्ल उद्धारको काम सुरु

भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विपद्पछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। मंगलबार साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।  

विपद्का कारण सुरुङभित्र फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत संयुक्त टोली परिचालन गरिएको छ। तर केही सुरुङ पूर्ण रूपमा पुरिँदा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

चिलिमे हाइड्रोको सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा

चिलिमे हाइड्रोमा विदेशीसहित २६ सदस्यीय संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र प्रवेश गरेको थियो। टोली करिब १५० मिटर भित्र पुगेपछि भिरालो भाग सुरु भएको स्थानमा सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको छ।

सुरुङ पुरिएका कारण टोलीलाई थप भित्र प्रवेश गरी खोजी गर्न कठिनाइ भएको छ।

अपर त्रिशूली–१ मा पनि सुरुङ टालिएको भेटियो

नुवाकोटको हाँकूस्थित अपर त्रिशूली–१ आयोजनाको सुरुङमा समेत संयुक्त उद्धार टोली करिब १६० मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ।

तर त्यहाँ पनि सुरुङ टालिएको अवस्थामा भेटिएपछि भित्रको खोजी कार्यमा अवरोध सिर्जना भएको छ।

त्रिशूली–३ एमा पानीले थप चुनौती

त्रिशूली–३ ए आयोजनामा टनेल हेड फेला परेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी माटो पन्छाउने काम भइरहेको छ।

त्यसपछि कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरी इनलेट टनेलतर्फ बनाइएको होलबाट प्रवेश गर्ने प्रयास गरिएको थियो। तर होलभित्र अत्यधिक पानी आएको र त्यस स्थानबाट प्रवेश गर्न असम्भव देखिएपछि अहिले टनेलको आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी रहेको सेनाले जनाएको छ।

त्रिशूली–३ बीमा पहुँचमार्ग निर्माण

त्रिशूली–३ बी आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरिएको छ। उद्धार टोलीलाई उक्त क्षेत्रमा पुग्न सहज बनाउन एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माणको काम जारी रहेको छ।

प्रभावित क्षेत्रमा तुइनबाट जोडिँदै पहुँच

बाढीका कारण त्रिशूली नदीका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि प्रभावित क्षेत्रलाई पुनः बजार तथा स्वास्थ्य सेवासँग जोड्न तुइन निर्माणको काम पनि अघि बढाइएको छ।

प्रभावित पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ।

तुइन सञ्चालनमा आएपछि बाढी प्रभावित स्थानीयलाई बजार तथा अस्पतालसम्म पुग्न सहज भएको नेपाली सेनाले जनाएको छ।

सुरुङभित्र पुरिएका संरचना खोल्ने, जोखिमयुक्त क्षेत्रमा खोजी गर्ने तथा सडक तथा नदी पार गर्ने वैकल्पिक पहुँच निर्माण गर्ने काम एकसाथ अघि बढाइएकाले उद्धार अभियान अहिले पनि उच्च जोखिम र चुनौतीबीच जारी छ।

प्रकाशित: १६ भाद्र २०८३ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App