गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीका कारण हाइड्रोको सुरुङमा फसेकाहरुको उद्धारमा राज्यले प्रयास गरिरहेको बताएका छन्।
मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले हरसम्भव प्रयास भइरहेको जनाएका हुन्।
सुरुङको माथिल्लो भागबाट ड्रिल गरेर पनि उनीहरुको उद्दारको सम्भावना खोजिरहेको बताउँदै उनले भने, ‘अझै पनि हामीले होप लुज गरेका छैनौं। उहाँहरू पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ। हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ।’
आफू बाढी प्रभावित धेरै ठाउँहरू पुगेको बताउँदै गृहमन्त्री गुरुङले बाढीको क्षति कल्पना गर्न नसकिने बताए। उनले भने, ‘कतिपय ठाउँमा जमिन दलदलको अवस्था छ। १० फिट, २० फिटको दलदल। यो बाढीले केही कुरा बाँकी राखेको छैन। यसले गरेको क्षति कल्पना पनि गर्न सकिन्न।’
यस्तै, गृहमन्त्री गुरुङले वडा र गाउँ–नगरले पनि आफ्नो जिम्मेवारीअनुसार काम गरिराखेको बताएका छन्।
नुवाकोटको बिदुर नगरपालिका प्रमुख आफूसँगै रहेर काम गरिराखेको बताउँदै उनले भने,‘ कति जनाले नदेख्नु भएको जस्तो लाग्यो, स्थानीय पालिकाले संघीय सरकारसँग मिलेर काम गरेको छैन भन्ने लागेको होला। तर स्थानीय तहहरू हामीसँग सक्रिय रहेर नै काम गरिराख्नुभएको छ।’
प्रकाशित: १६ भाद्र २०८३ १९:०४ मंगलबार



-600x400.jpg)

