१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
विचार

अर्बुद र भाग्य

आनुवंशिक तत्व (डिएनए) का कारण नै जीवको उत्पत्ति हुने भएकाले डिएनएलाई सभ्यताको आधार भनिन्छ। डिएनएका ससाना खण्डहरू जिन हुन्। प्रत्येक जीव र वनस्पतिका आआफ्नै किसिमका आनुवंशिक पदार्थ हुन्छन्। मानव मात्रमा पनि प्रत्येक व्यक्तिको डिएनएको बनोट पृथक् हुन्छ। एकाघरका सन्ततिको आनुवंशिक ढाँचा भने धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। प्रकृतिको उक्त विविधताका कारण फोरेन्सिक साइन्सले व्यक्तिको पहिचान गर्छ, बाबुआमा र सन्तानबिचको नाता ठम्याउन सहयोग गर्छ।

डिएनएको जगमा कोष (सेल) को निर्माण हुन्छ। धेरै सेलहरू मिलेर मुटु, कलेजो, फोक्सोलगायतका तन्तुहरू बन्छन्। मानव आकृतिले पूर्णता पाउँछ। उही आनुवंशिक तत्वबाटै बनेको भए पनि प्रत्येक अंगका कोषहरू फरक हुन्छन्। मुटु, छाला, मिर्गौलाका सेलहरू एकअर्कासँग मिल्दैनन्। शरीरमा तुलनै गर्न नसकिने फरक गुणका सयौं किसिमका कोषहरू हुन्छन्। त्यसमध्येको एक हो, प्रतिरक्षा कोष। बाह्य सूक्ष्माणुका संक्रमण मात्र होइन, क्यान्सरबाट समेत जोगाउन सिपाहीजस्तै काम गर्छन् प्रतिरक्षा प्रणालीका सेलहरूले।

जन्मेदेखि मृत्युवरण नगर्दासम्म मानिसको शरीरमा सेलको विभाजन लगातार चलिरहन्छ। उक्त प्रक्रियाले सार्थकता पाउन डिएनएको पनि अनवरत निर्माण अपरिहार्य हुन्छ। डिएनए बन्ने प्रक्रियामा गल्तीको सम्भावना अति नै न्यून हुन्छ।

अब क्यान्सर के हो ? आनुवंशिक तत्व बन्ने प्रक्रियामा बेथिति हुँदा फरक आकृतिको डिएनए बन्छ। खराब डिएनएका कारण पृथक् चरित्रका कोषहरू बन्छन्। आनुवंशिक तत्वको कुन स्थानमा खराबी आयो, त्यसैअनुरूप भिन्न सेलहरू उत्पत्ति हुन्छन्। त्यसैक्रममा कहिलेकाहीं लगातार विभाजन भइरहने अस्वाभाविक कोषको निर्माण हुन्छ। यसरी तारन्तार विभक्त हुने कोषलाई क्यान्सरस सेल भनिन्छ। त्यस्ता एउटा सेलबाट छिट्टै नै असंख्य कोषहरू बन्छन्। रफ्तारी विभाजनमुखी सेलहरू जुन अंगमा बन्छन्, उक्त तन्तु क्यान्सरमय बन्छ। दशकौंको वैज्ञानिक प्रयासका अतिरिक्त दरिलो उपचारविधि स्थापित हुन नसकेकाले अधिकांश भाइटल अर्गेनमा क्यान्सर लागेपछि व्यक्ति केही समयको पाहुना बन्छ, चोला फेर्छ।

सरसर्ती हेर्दा दैनिक हजारौं ‘सेल डिभिजन’का लागि लाखौं जिनहरू बन्नुपर्छ। असंख्य जिनहरू बन्दा आनुवंशिक खराबी आउने अनि व्यक्तिलाई क्यान्सर लागिहाल्छ कि भन्ने भान हुन्छ। तर यथार्थमा त्यसो हुँदैन। नयाँ आनुवंशिक तत्व निर्माणका क्रममा कुनै पनि त्रुटि नहोस् भन्नका लागि प्रकृतिले उत्कृष्ट व्यवस्थापन गरेको छ, भुलरहित डिएनए बनाउन।

आनुवंशिक तत्व बन्ने प्रक्रियामा बेथिति हुँदा फरक आकृतिको डिएनए बन्छ। खराब डिएनएका कारण पृथक् चरित्रका कोषहरू बन्छन्। आनुवंशिक तत्वको कुन स्थानमा खराबी आयो, त्यसैअनुरूप भिन्न सेलहरू उत्पत्ति हुन्छन्। त्यसैक्रममा कहिलेकाहीं लगातार विभाजन भइरहने अस्वाभाविक कोषको निर्माण हुन्छ।

आनुवंशिक तत्वमा कहिल्यै पनि समस्या नआए प्रकृतिले अर्को भयावह अवस्थाको सामना गर्नुपर्छ। डिएनएमा कुनै पनि कैफियत नआए मानिस बुढो हुने, रोगी बन्ने सम्भाव्यता न्यून हुन्छ। मानव अजम्बरी बन्ने अनि सन्तानोत्पादन नरोकिने हो भने पृथ्वीले भार थेग्न सक्दैन। सायद त्यसैले होला भगवान्ले मध्यम मार्ग रोजे। डिएनए बन्ने क्रममा झिनो खराबी आउने तर क्यान्सर भने हत्तपत्त नलाग्ने गरी मानवीय शरीर बन्यो।

कोष विभाजनको क्रममा खराब डिएनए बने उक्त भुललाई शारीरिक संयन्त्रले अविलम्ब सच्याउँछ। कदाचित् उक्त प्रक्रियाले आनुवंशिक त्रुटि हटाउन नसके खराब डिएनएसहितको कोष बन्छ। त्यस्तो भए नै पनि अधिकांश अवस्थामा सेलको व्यवहार भने असामान्य हुँदैन। कदाचित् उक्त कोषले क्यान्सरको जस्तो चरित्र देखाए मानवीय कायामा रहेको अर्को संयन्त्र सक्रिय हुन्छ, न्याचुरल किलर सेल। प्रतिरक्षा प्रणालीअन्तर्गतको किलर सेलले असामान्य कोषको नाश गर्छ, क्यान्सरबाट बचाउँछ।

शरीरमा दैनिक रूपमा हजारौं खराब जिन बन्ने, दर्जनौं क्यान्सरका कोष उत्पादन हुने गर्छन् तर शारीरिक संरचनाको पर्खालले हामीलाई रोग लाग्न दिँदैन। कदाचित् शरीरका सबै संयन्त्र निष्फल भए मानिसलाई अर्बुद रोग लाग्छ। उमेरको बढोत्तरीसँगै तन्तुहरू शिथिल हुने भएकाले अर्बुद रोगको सम्भाव्यता बढ्छ।

क्यान्सरको सम्भावनाको सरल बुझाइका लागि एक अंकोजोजिस्टको बयान सापटी लिएँ। घना जंगलमा रात्रिकालीन समयमा एक अपरिपक्व सिकारीले चलाएको बन्दुकले मृग मार्नु क्यान्सर लाग्ने सम्भाव्यता बुझाउनका लागि उपयुक्त हुन्छ। सिकारीले हानेका अधिकांश गोलीहरू रुखमा ठोकिन्छन्। हजारौं गोलीको बर्बादीपछि निस्पट्ट अँध्यारोमा भुलवश कुनै छर्राले छोइहाले पनि घाइते जनावर भाग्छ, केही समयपछि स्वस्थ बन्छ। मृत्युका लागि भाइटल अर्गेनलाई छेदन आवश्यक भएकाले अँध्यारोमा जनावर मर्ने सम्भाव्यता नगन्य हुन्छ। यद्यपि अनाडी सिकारीले अँध्यारो जंगलमा सिकारै गर्न सक्दैन भन्ने हुँदैन। जसरी अँध्यारोमा दशकौंसम्म बन्दुक चलाउँदा अपरिपक्व सिकारीले समेत मृग मार्ने सम्भाव्यता हुन्छ, त्यसै गरी लामो समय बाँच्दा मानिसलाई क्यान्सर लाग्ने प्रतिशत उकासिन्छ। कुनै चमत्कार नै भएको खण्डमा भने नसोचेको परिणाम आउँछ। अपरिपक्व सिकारीले चलाएको हतियारले पहिलो प्रहारमै मृगको हत्या गरेझैं युवा अवस्थामा समेत अर्बुद रोग लाग्न सक्छ। बालकलाई किन क्यान्सर लाग्छ भन्ने प्रश्नको ठ्याक्कै उत्तर विज्ञानसँग छैन। त्यस्तो अवस्थालाई संयोग, भाग्य अथवा भगवत् चाहनाभन्दा अन्य कुनै पनि कुराले व्याख्या गर्दैन।

गत हप्ता अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को इलाकाको वातावरणीय हावाको गुणस्तर निरीक्षण गर्ने निकाय ‘बे एरिया एयर क्वालिटी म्यानेजमेन्ट डिस्ट्रिक्ट’ले एक रिपोर्ट सार्वजनिक ग¥यो। सेभ्रोन कम्पनीको खनिज तेल प्रशोधन केन्द्रले हावामा प्रवाह गर्ने रासायनिक तत्वहरूको मात्राको जाँचबुझ गरी नजिकका सहरमा बस्ने बासिन्दालाई क्यान्सरको जोखिम अधिक रहने बतायो। खनिज तेल प्रशोधनका कारण उक्त भौगोलिक क्षेत्रका १० लाख बासिन्दामध्ये ३७ जनालाई जीवनकालभरमा अर्बुदरोग लाग्ने भन्यो उक्त प्रतिवेदनले। वैज्ञानिक तथ्य र आँकडाका आधारमा निकालिएको उक्त निष्कर्ष गलत होइन। तर लाखौं नागरिकमा कुन–कुन व्यक्तिलाई क्यान्सर लाग्छ भन्न सकिँदैन।

संसारका एकतिहाइ मानिसलाई जीवनकालमा अर्बुद रोग लाग्छ। तीस वर्ष उमेर समूहका ४०० महिलामा एक अनि सत्तरी वर्षका नौ आमाहरूमा एक महिलालाई ब्रेस्ट क्यान्सर हुन्छ। त्यस्तै सालाखाला एक लाख जनसंख्या भएको एक नगरमा एक सय ७१ जना क्यान्सरका कारण मर्छन्। विभिन्न अन्वेषण समूहले सार्वजनिक गरेका क्यान्सरसम्बन्धी अध्ययनका यी नतिजाले क्यान्सरको भयानकता भन्छ। क्यान्सरपीडितको संख्या दिनानुदिन बढ्ने तर उपचारका ठोस उपाय पत्ता नलागेको अवस्थामा के गर्ने ?

क्यान्सरबाट बच्नका लागि बायोलोजिकल हिसाबले तीन मार्ग सार्थक देखिन्छ। डिएनएको विभाजनलाई त्रुटिरहित बनाउन सके आनुवंशिक अखण्डतामार्फत महारोगबाट पार पाइन्थ्यो। त्यस्तै कदाचित् आनुवंशिक खराबी उत्पन्न भएको अवस्थामा ‘डिएनए रिपेयर’ मेकानिज्मलाई सबलीकरण गरी अर्बुद रोगको सम्भाव्यता कम गर्न सकिन्थ्यो। यी दुवै संयन्त्रमा समस्या आई अर्बुद कोष उत्पादन भएको क्षणमा ‘क्यान्सर खान सक्ने प्रतिरक्षा प्रणालीअन्तर्गतको ‘किलर सेल’को संख्यात्मक र गुणात्मक अभिवृद्धि गर्न सकिन्छ। यद्यपि कुन औषधि, खान्की र आचरणले आनुवंशिक बनोटको मजबुतीकरण र अर्बुद कोषको विनाशमा भूमिका खेल्छ भन्ने कुराको वैज्ञानिक पुष्टि भएको छैन। ठुलो जनसंख्यामा गरिएको ‘मेगा स्टडी’ले अर्बुदरोगको कारक भने पत्ता लगाएका छन्।

धूमपान अनि मद्यपानलाई निषेध गर्न सके क्यान्सरजन्य मृत्यु आधा घट्ने एक बृहत् अध्ययनको निष्कर्ष भएकाले रक्सी र चुरोटको आदत त्याग मात्रले पनि क्यान्सरको सम्भाव्यता कम हुन्छ। दैनिक आठ घण्टाको सुताइले क्यान्सरलाई मार्न सक्ने किलर सेलको संख्या बढ्ने भएकाले रात्रिकालीन विश्राममा ध्यान दिने। कीटनाशक औषधिले क्यान्सरको सम्भाव्यता बढाउने भएकाले बजारमा किनेको तरकारी तथा फलफूललाई कम्तीमा आधा घण्टा पानीमा डुबाउँदा रासायनिक तत्वको मात्रा निकै घटाउन सकिन्छ भन्ने कुरा दिमागमा राख्ने। भोजन गर्दा शाकाहारी समूहमा क्यान्सरको सम्भाव्यता कम हुन्छ भन्ने कुरालाई मनन गर्ने। नास्तिकभन्दा आस्तिक समूहमा प्रतिरक्षा प्रणाली सबल देखाएका छन्। बिस्कुट, चाउचाउजस्ता प्रशोधित खाँकीले क्यान्सरलाई हौस्याएको भन्छ। प्रदूषित हावासमेत क्यान्सरको कारक देखिएकाले भरिसक्य घनाबस्तीबाट आफूलाई टाढा राख्नु हितकर देखियो। परिश्रम गर्नेलाई अर्बुदरोगको सम्भाव्यता कम देखिएको छ। भजन, कीर्तन, संगीत तथा साधनाले क्यान्सरको पीडा कम हुन्छ भन्ने अध्ययनको निष्कर्ष हो।

क्यान्सरको सम्भाव्यता न्यूनीकरणका लागि प्रकाशित वैज्ञानिक आलेखले निर्देशित गरेका क्रियाकलापमा ध्यान दिन आवश्यक देखियो। विज्ञानले देखाएका बाटो हिँड्दा अर्बुद रोग लाग्दैन भन्ने होइन, तथापि क्यान्सरको सम्भाव्यता भने अवश्य कम हुन्छ। सबै परहेज गर्दागर्दै पनि महारोग लाग्यो भने भाग्यलाई दोष दिनुको के नै विकल्प रह्यो र।

प्रकाशित: १६ भाद्र २०८३ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %