रसुवामा भोटेकोशी नदीमा गत बुधबार आएको बाढीको सातौं दिनसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। तर बाढीपछि अझै तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाइमार्फत मात्रै तीन हजार ७०२ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ। यसमध्ये तीन हजार ४४९ जना नेपाली र २५३ जना विदेशी नागरिक छन्। सेनाले उद्धारका लागि अहिलेसम्म ५७३ वटा हवाइ उडान गरेको छ।
सम्पर्कविहीनमध्ये जलविद्युत आयोजनामा काम गर्ने करिब ६३९ जना, ५८३ जना विदेशी नागरिक र विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली छन्। यस्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कविहीन छन्।
बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा दुई हजार ७४० जनाको स्वास्थ्य उपचार गरेको जनाएको छ।
उद्धार तथा राहत अभियानमा २१ हजार १११ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका आठ हजार ८९६ र सशस्त्र प्रहरीका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि जारी छ। अहिलेसम्म ३७ ट्रक, ३७ बोलेरो र हेलिकप्टरका नौ उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ।

प्रकाशित: १६ भाद्र २०८३ ११:२३ मंगलबार





