बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
सोही विमानमार्फत नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण बेपत्ता भएका तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो। सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो।
नेपालको आवश्यकता तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर चीनले राहत सामग्री उपलब्ध गराएको जनाएको छ। दोस्रो खेपमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक सामग्री रहेका छन्।
नेपाल आइपुगेका डीएनए पहिचान विशेषज्ञहरू आवश्यक समन्वय गरी तत्कालै विपद् प्रभावित क्षेत्रतर्फ जाने र खोज तथा पहिचान कार्यमा सहयोग गर्ने जनाइएको छ।
तस्बिर : प्रदीपराज वन्त/रासस
प्रकाशित: १६ भाद्र २०८३ २०:०७ मंगलबार





