१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोडसम्म सहयोग

ज्योति विकास बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँसम्म सहयोग गर्ने भएको छ।

बैंकले तत्कालका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। साथै, बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा सञ्चालन गरिने विभिन्न कार्यक्रमअन्तर्गत चरणबद्ध रूपमा थप ५० लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ।

बैंकले विनाशकारी विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति आफ्नो साथ, सहानुभूति र ऐक्यबद्धता रहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा प्रतिकूल परिस्थितिका बीच निरन्तर खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति बैंकले उच्च सम्मान व्यक्त गरेको छ।

बैंकले विपद्का समयमा प्रभावित नागरिक तथा समुदायको साथमा उभिनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ। आगामी दिनमा समेत राहत, पुनर्स्थापना तथा समुदायको दीर्घकालीन हितका कार्यमा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

ज्योति विकास बैंकले हाल उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App