‘मेरो बेटा ल्याइदेऊ छिटो। एकपटक त मुख हेर्न देऊ’, सुनसरी देवानगञ्ज– ३ को कप्तानगञ्जमा आइतबार राती भएको दुईपक्षीय झडपपछि गोली लागेर मृत्यु भएका २५ वर्षीय ओमप्रकाश मेहताकी ६३ वर्षीय आमा सीतादेवी एकोहोरो भनिरहन्छिन्। देवानगञ्ज– ४ की उनी पाँच दिनदेखि एकोहोरो ‘बेटा हेर्न पाऊँ, खोइ मेरो बेटा ल्याउदेऊ ?’ भन्दै रोइरहन्छिन् अनि आफूलाई सम्हाल्न सक्दिनन् र भुइँमा ढल्छिन्।
देवानगञ्ज– ३ को कप्तानगञ्ज जहाँ शिव मन्दिर रहेको छ, त्यही घटनास्थलदेखि झन्डै एक हजार मिटरपूर्वतर्फ घरमा उनलाई सहानुभूति दिन जानेको संख्या बिहानदेखि बेलुकासम्म बाक्लो हुने गर्छ। उनी प्रायः डेढ/दुई घन्टासम्म बेहोस अवस्थामा हुन्छिन्, त्यसपछि फेरि होसमा आउँछिन् अनि छोरा हेर्न पाऊँ भन्दै रुन्छिन्। उनलाई सम्हाल्न दुईतीनजना आफन्त खटिएका छन्। प्रेसर रोगी सीतादेवीले छोराको मृत्युको खबर सुनेदेखि केही खाएकी छैनन्।
सीतादेवीका जेठो छोरा हुन् ओमप्रकाश। ओमप्रकाशले परिवारको सम्पूर्ण जिम्मेवारी लिइसकेका थिए। उनले प्लास्टिक बोरा फ्याट्री सञ्चालन गर्दै आएका थिए। परिवारका लागि आर्थिक जोहो पनि ओमप्रकाशले गर्थे। उनी आमालाई असाध्यै माया गर्थे। ओमप्रकाशका भाइ पनि छन्। उनी विदेश आउजाउ गर्छन्। ओमप्रकाशले केही वर्षपछि विवाह गर्छु भन्दै टार्दै आएका थिए। बरु उनकै सहमतिमा भाइले विवाह गरेका थिए।
ओमप्रकाशले छाडेर जाँदा परिवारमा आर्थिक संकट आउने बाबु कृष्णदेव मेहता बताउँछन्। उनले सरकारसँग आफ्नो छोरालाई सहिद घोषणा गर्नुपर्ने र परिवारका एकजना सदस्यलाई क्षतिपूर्तिसहित रोजगार दिनुपर्ने माग राखेका छन्। यस्तो माग उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिसमक्ष राखेका छन्। ‘अहिलेसम्म न्यायको खातिर चुप लागेर बसेका छौं’, उनले भने, ‘पाँच दिन बित्दा पनि परिवर्तन खोजेर सबैले बनाएको सरकारले केही चासो नदिएको महसुस भएको छ। माग पूरा नभए आन्दोलन थप चर्काउने उनले चेतावनी दिए।
आइतबार ओमप्रकाश घरबाट निस्किएको परिवारलाई पत्तो थिएन। चोक (कप्तानगञ्ज) मा अर्को समुह मुस्लिम पक्षले हिन्दु पक्षमाथि जाइलागेको खबर सुनेपछि घरबाट निस्किएको पछि मात्र थाहा पाएको बाबु कृष्णदेवले बताए। ‘पिसाब फेर्न घर बाहिर निस्किएको थियो। छोरालाई गोली लागेको एक्कासि फोन आयो। अतालिँदैै हतारहतार चोकमा पुगेर अस्पताल लगियो, तर बचाउन सकिएन’, उनले भने।
उनले सबैभन्दा बढी तत्कालीन देवानगञ्ज प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश राईमाथि असन्तुष्टि जनाए। यतिबेला राईको सरुवा भइसकेको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रकाश पराजुलीलाई खटाएको छ। उनले प्रहरी निरीक्षक राईसँगै अहिलेका गृहमन्त्री सुदन गुरुङ यत्रो मानवीय क्षति हुँदा पनि मौन बसेकोमा अचम्म लागेको बताए।
यतिबेला देवानगञ्ज गाउँपालिका पूरै शोकमा डुबेको छ। बिहीबार दिउँसो गोली लागेर घाइते भएका देवानगञ्ज– ३ का जयप्रकाश मेहताको मृत्यु हुन पुगेको छ। उनको विराटनगरस्थित न्युरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १.२४ बजे मृत्यु भएको हो।
जयप्रकाशको मृत्युसँगै देवानगञ्जमा आइतबार भएको झडपका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या २ पुगेको छ। सो घटनामा गोली लागेर आठजना सर्वसाधारण युवा घाइते भएका थिए, जसमा दुई जनाको अवस्था सिकिस्त थियो। यसमध्ये जयप्रकाशको मृत्यु भइसकेको छ। अब देवानगञ्जमा गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ।
मृतक जयप्रकाशको परिवारको पीडा झनै दर्दनाक छ। जयप्रकाशका बाबु नरेश छोराको मृत्युले बेहोस भएका छन्। उनी जब छोराको मृत्युको खबर सुने, विराटनगरको न्युरो कार्डियोलोजी अस्पतालअगाडि त्यही भुईमा ढले। यतिबेला उनलाई आफन्तले सम्हालेर राखेका छन्।
नरेशका एक मात्र छोरा हुन् जयप्रकाश। जयप्रकाशले सिटी सफारी चलाएर परिवारको खर्च धान्दै आएका थिए। उनले एक वर्षअघि मात्र विवाह गरेका थिए। उनकी श्रीमती गर्भवती छिन्। जयप्रकाशमुनिका दुई छोरी छन्।
देवानगञ्ज– ४ का वडाध्यक्ष सुशीलकुमार महेताले घटनालाई साम्य पार्ने स्थानीय स्तरबाट पहल भइरहे पनि संघीय सरकारसमक्ष पीडितले राखेका माग पूरा भए वातावरण सहज हुने बताए।
मृतक तथा घाइतेका आफन्तले घटनाको विषयमा छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा संयोजक रहेको समिति र सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसमक्ष मृतकलाई सहिद घोषणा, घाइतेलाई निःशुल्क उपचार, क्षतिपूर्ति, दोषीलाई कडा कारबाहीलगायतका नौैबुँदे माग राखेका छन्। सरकारले मागप्रति चासो नदिए घटनाले थप उग्ररूप लिने देवानगञ्जवासीको चेतावनी छ।
यसैबिच देवानगञ्ज गाउँपालिकाले मृतक परिवारलाई सहिद घोषणा गर्न संघीय सरकारसँग सिफारिस गरेको छ। मृतक परिवारलाई राहतस्वरूप दस/दस लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।
जयप्रकाशको मृत्यु, कर्फ्यु कायमै
चार दिनअघि सुनसरीको देवानगञ्जमा दुईपक्षीय विवाद हिंसामा परिणत भएपछिको असहज परिस्थितिमा सुधार हुँदै गएको छ। यद्यपि, आइतबार भएको घटनामा घाइते भएका २१ वर्षीय जयप्रकाश मेहताको उपचारकै क्रममा बिहीबार मृत्यु भएको छ। उनको मृत्युपछि सुनसरी र मोरङका कतिपय स्थानमा प्रदर्शन र नाराबाजी गरे।
गृह मन्त्रायलद्वारा गठित समितिले काम थाल्नुका साथै जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय भेला डाकेर सम्पूर्णलाई सद्भाव कायम गर्न आह्वान गरेसँगै बुधबारबाट केही सुधार हुन थालेको हो। बिहीबार पनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वदलीय बैठक बसेर मृतकलाई सहिद घोषणा र घाइतेलाई क्षतिपूर्ति दिन संघीय सरकारसमक्ष माग गर्ने सहमति बनेको छ। सर्वदलीय बैठकमा जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहताले छानबिन समितिले काम पूरा गर्नुअघि नै सरकारले मृतकलाई सहिद घोषणा र घाइतेलाई क्षतिपूर्ति दिएमा घटना साम्य हुने आशा गरे।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिदेखि जारी गरेको अनिश्चितकालीन कफ्र्यु इनरुवा, बर्जु, भोक्राहा नरसिंह, कोसी, दुवही, गढी, हरिनगरका पूरै क्षेत्र र इटहरीका केही क्षेत्रमा कायमै राखिएको छ। यी ठाउँका बजार ठप्प छन्। शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन्। घटना साम्य पार्न बिहीबार साँझ गृहमन्त्री सुदन गुरुङ र जनसंख्या तथा स्वास्थ्यमन्त्री निसा मेहता सुनसरी आएका छन्। सुनसरी आउनुअघि विराटनगरका अस्पतालमा दुवैजनाले घाइतेको अवस्था बुझेका छन्।
आइतबार राति दुईपक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका– ४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो। बिहीबार उपचारकै क्रममा थप एकजना २१ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। सो घटनामा आठजना सर्वसाधारण घाइते भएका थिए, जसमा एकजनाको बिहीबार मृत्यु भएको छ। एकजनाको अवस्था अझै गम्भीर छ। सात जना घाइते भएका छन्।
प्रकाशित: १५ श्रावण २०८३ ११:१२ शुक्रबार





-600x400.jpg)