२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

एमाले त्यागेर आजपामा लागेका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेशप्रसाद कुर्मी पदमुक्त भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिह्नबाट निर्वाचित दुवै जनप्रतिनिधि दल परिवर्तन गरी प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) मा आबद्ध भएपछि निर्वाचन आयोगले कानुनबमोजिम उनीहरूको पद स्वतः समाप्त भएको जनाएको हो।

निर्वाचन आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी प्रचलित कानुन तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको दल परिवर्तन सम्बन्धी व्यवस्था अनुसार नगरप्रमुख शाह र वडाध्यक्ष कुर्मीलाई पदमुक्त गरिएको जनाएको छ। आयोगको उक्त सूचना गोरखापत्रमा समेत प्रकाशित भएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्नबाट निर्वाचित भएका शाह र कुर्मी पछिल्लो समय आम जनता पार्टीमा सक्रिय भएपछि एमाले केन्द्रीय सचिवालयले उनीहरूलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यससम्बन्धी निर्णय निर्वाचन आयोगमा पठाइएपछि आयोगले कानुनी प्रक्रिया पूरा गर्दै पदमुक्त गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगको निर्णयसँगै देवाही गोनाही नगरपालिकामा नगरप्रमुख र वडा नं. ४ को वडाध्यक्ष पद रिक्त भएको छ। अब ती पदहरूमा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ।

प्रकाशित: १५ श्रावण २०८३ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App