परीक्षा दिनबाट बञ्चित गर्न खोजिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गर्दा वीरगन्जमा आइतबार दिनभर नै तनाव रह्यो।
वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूको प्रदर्शनका कारण अशान्त बन्न पुगेको थियो। क्याम्पसका शिक्षकहरूको आन्दोलनका कारण परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरूले बिहानैदेखि सडकमा उत्रिएर धर्ना र प्रदर्शन गर्नुका साथै तोडफोड गरेका कारण वीरगन्ज दिनभर अशान्त बनेको थियो।
क्याम्पसको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको परीक्षा आइतबारदेखि सञ्चालन हुने कार्यतालिका क्याम्पस प्रशासनले सार्वजनिक गरेको थियो। तर आइतबार बिहान परीक्षा दिन विद्यार्थीहरू क्याम्पसमा पुग्दा क्याम्पस प्रशासनले शिक्षकहरूको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको जानकारी गराउँदै विद्यार्थीहरूलाई क्याम्पस प्रवेशमा रोक लगाएको थियो।
परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसको गेट अगाडिबाट नाराबाजी गर्दै घण्टाघर चोकमा पुगेर सडकमै धर्ना बसेर सडक अवरुद्ध गरेका थिए। सडकमा टायर बालेर प्रदर्शन गरिरहेका विद्यार्थीहरूसँग प्रहरीको झडप भएको थियो। त्यसपछि उनीहरू नाराबाजी गर्दै नजिकैको जिल्ला प्रशासन कार्यालय पर्सामा पनि पुगेका थिए। त्यहाँ तैनाथ सुरक्षाकर्मीले गेटमै रोकेपछि थप आक्रोशित भएका विद्यार्थीहरू पुनः क्याम्पसमा पुगेर प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा उनीहरूले क्याम्पसको बसमा पनि तोडफोड गर्नुका साथै वीरगन्जको सौन्दर्यकरणका लागि सडकको फुटपाथमा रोपिएका रुखबिरुवाहरू पनि भाँचेका थिए।
विद्यार्थीहरूको प्रदर्शन उग्र बन्दै गएपछि शहरभरि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा सहभागी कक्षा १२ को शिक्षा संकायमा अध्ययनरत छात्र ओशष साहले क्याम्पसमा विगत १ वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्व चलिरहेका कारण आफ्नै भविष्य बर्बाद भएको भन्दै प्रदर्शन गर्नुपरेको बताएका थिए।
परीक्षा दिन क्याम्पसभित्र प्रवेश गर्न खोज्दा उल्टै प्रहरीले लाठीचार्ज गर्नका साथै तीन जना विद्यार्थीलाई पक्राउ गरेर दमन गरेको आरोप उनले लगाए।
क्याम्पस सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने शिक्षकहरूले विद्यार्थीहरूलाई उचालेर क्याम्पसको शैक्षिक वातावरण बिगारिरहेको आरोप लगाए। नाजायज माग राखेर शिक्षकहरूले आन्दोलन गरेको कारण उनीहरूको माग व्यवस्थापन पक्षले पूरा गर्न नसकेको उनले बताए।
परीक्षाबाट बञ्चित भएका विद्यार्थीहरूको प्रदर्शन आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरू सहभागी बैठकले तीन बुँदे निर्णय गरेपछि रोकिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका अगुवा, क्याम्पस सञ्चालक समितिका प्रतिनिधि र क्याम्पसका प्राध्यापकहरू सहभागी थिए। बैठकले क्याम्पस प्रशासनले आइतबारदेखि स्थगित गरेको परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने, आन्दोलनका क्रममा घाइते विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने निर्णय गरेको प्रजिअ दाहालले बताए।
प्रकाशित: ८ चैत्र २०८२ १९:५५ आइतबार





